भुवनेश्वर । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आइतबार तेस्रो खेलमा साविक विजेता भारतको सामना गर्दैछ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।
भारतविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । तर, बलियो भारतविरुद्ध नेपाललाई जित निकाल्न सहज छैन ।
‘भारतसॅंगको खेल हाम्रो लागि साख र प्रतिष्ठाको खेलको रुपमा समर्थकहरुले लिनु हुन्छ। तर हामी भने सकेको राम्रो खेल देखाउने हो र लक्ष्य जित नै रहनेछ। हाम्रो प्रदर्शन राम्रो हुनुपर्यो राम्रो नतिजा आउनु पर्यो,’ मुख्य प्रशिक्षक मेघराज केसी भन्छन् ।
प्रशिक्षक केसीले भारतविरुद्धको खेलका लागि कुनै विशेष तयारी भने नगरेको बताउँछन् ।
‘सबै टिमलाई हामीले समान मानेका थियौ त्यही अनुसार नै हामी भारतविरुद्ध खेल्ने छौ भारतका लागि हाम्रो विशेष तयारी भनेर केही छैन सबै टिमविरुद्ध उही नै हो,’ मुख्य प्रशिक्षक केसीले भने, ‘ उमेर समूहको लागि दक्षिण एसियाका सबै टिम बराबर नै छौ। केही तल माथी मात्र नै छ जस्तो लाग्छ। खास फरक छैन।’
पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो । यस्तै दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-० गोल अन्तरले हराएको थियो ।
नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यदि भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ ।
भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । भारत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
फाइनलमा स्थान बनाउन भारतलाई नेपालविरुद्धको खेल जित्नुपर्ने दबाब रहेको छ ।
५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।