August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

विवाद बढाउँदै फाइदा उठाउँदै नेपाली फुटबलका इन्द्रमान

680

-लेखनाथ सिकारू

काठमाण्डौं । नेपाली फुटबलको सर्वोच्च निकाय एन्फा यतिखेर २१औं अधिवेशनको संघारमा छ । यस्तो समयमा फुटबल क्षेत्रमा भएका विवादलाई मिलाएर साझा नेतृत्व चयन गर्नुपर्ने माग आम खेलप्रेमीहरुबाट उठिरहेको अवस्थामा एन्फाकै जिम्मेवार व्यक्तिहरु भने आन्तरिक विवाद बढाएर आफ्नो फाइदा उठाउन लागेको पाइन्छ । त्यसमध्येका मैदान बाहिरका एक खेलाडि मानिन्छन् इन्द्रमान तुलाधर ।

एन्फा महासचिवका रूपमा रहेका तुलाधर आफूलाई स्वार्थ केन्द्रित गर्दै फुटबल क्षेत्रमा विवाद सृजना गरी आफ्नो फाइदा उठाउने काममा लागेको आरोप त्यस क्षेत्रका सरोकारवालाहरुले नै लगाउने गरेका छन् ।

Advertisement

अध्यक्षलाई रवर स्टाम्प बनाएर प्रयोग गर्दै आएका तुलाधर खेलाडीले १८ हजार तलव लिंदा उनी मासिक रुपमा करिब एक लाख २० हजार सहित अन्य यातायात, इन्धन, संचार लगायतका सुविधा लिइरहेका छन् । यसमा उनले एन्फा तलब निर्धारण समितिले तोकेको ५८ हजार २ सयलाई अर्को निर्णयमा घुसाएर बढाएको आरोप छ ।

कार्य समितिको निर्णयलाई ट्वाइलेट पेपर सम्झिने तुलाधर फिफा र एएफसीले हटाउन निर्देशन दिएपनि प्रभाव र पहुँच प्रयोग गरी अफूलाई प्रकाशमानको मान्छे हुँ भन्दै निर्वाचनको प्रलोभन देखाउँदै जिम्मेवारीमै रहिरहे । निजि स्वार्थको लागि जे पनि गर्न सक्ने व्यक्तिको रुपमा चर्चामा आएका तुलाधर एन्फाका हरेका आर्थिक कारोवारमा समेत जोडिने गरेका छन् ।

एन्फाका टेण्डर प्रक्रिया आफ्नै भाइलाई सेटिङ गरी फाइदा उठाउँदै आएका उनले आफ्नो र आफ्नो पक्षको हित र स्वार्थको लागि ऐन, नियम, कानुन समेतलाई वेवास्ता गरे ।

एन्फाले रौतहटमा सरकारको स्वीकृतिबिना बनाएको महिला फुटबल एकेडेमीमा बिनाप्रतिस्पर्धा एक करोड ७ लाख बढीको निर्माण र फ्लोरिङको ठेक्का दिएको, एन्फा मुख्यालय मर्मत सम्भार र स्तरोन्नतिमा एउटै प्रकृतिका योजनालाई टुक्राएर १० लाखदेखि ५७ लाखसम्मका कुल २ करोड ५१ लाख ८६ हजार ७ सय ९६ रुपैयाँ ३४ पैसाको काम बिनाबोलपत्र (टेन्डर) ६ वटा ठेकेदार कम्पनीबाट गराएका तुलाधरले राम्रो फाइदा उठाउँदै संकटा क्षेत्रमा घर थप्न समेत सफल भएको चर्चा छ । यस विषयमा तुलाधरको आलोचना त भयो तर कसैले कुनै कारबाही भने गर्न सकेन ।

नेपाल सरकारको प्रचलित कानुन र सार्वजनिक खरिद नियमावली २०६४ अनुसार ५ लाख बढीको काम टेन्डर प्रक्रिया (कम्तीमा ३ वटाको प्रतिस्पर्धा) र एन्फाकै आर्थिक कार्यविधि २०७५ को दफा १२ (ख) ३ अनुसार १० लाखभन्दा माथिको काम टेन्डरबाट कम्तीमा ५ प्रतिस्पर्धाबाट गर्नुपर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सचेत गराउँदा समेत तुलाधरले वेवास्ता गरे ।

एन्फाले ‘ए’ डिभिजन लिग २०७८ को टिकट बिक्रीमा १ करोड बढीको माग गर्दै टेन्डरको सूचना निकाल्यो । एउटैमात्र आवेदन ५१ लाखको प¥यो । भोलिपल्ट १ करोड बनाउन लगाएर त्यही कम्पनीलाई ठेक्का दियो । ५० लाख बढीको काम कार्यसमितिको निर्णयबाट गराउनुपर्ने नियम पनि उनले तोडे । बिनाटेन्डर १६ लाखको पूर्वाधार नेपाली सेनाको भद्रकाली मैदानमा बनाइयो । तुलाधरले फाइनाइन्स डाइरेक्टर निरञ्जन शाहले हवाई टिकटको मूल्य टिपेक्स लगाएर बिल भुक्तानी गरेर घोटाला गरेको प्रमाण सार्वजनिक भएपनि कुनै निकायले कारबाही गर्न सकेन ।

एन्फाकै फाइनाइन्स डाइरेक्टरसँगको मिलेमतोमा पटकपटक लाखौं मूल्यको यार्सागुम्बा खरीद, प्लेन टिकट घोटला, पेस्की फर्स्यौटमा अनियमितता जस्ता दर्जन प्रकरणमा मुछिएका तुलाधरले आर्थिक अनियमितताको विषयमा कार्य समितिले फाइनाइन्स डाइरेक्टरलाई निलम्बन गरेको निर्णय गर्दा समेत कुनै कारबाही गर्न चाहेनन् । यस प्रकरणसँगै कार्यालयमा रातको समयमा एन्फा कार्यालय चोरी प्रकारण समेत आफ्ना कर्तुत लुकाउन गरीएको एक खेल हो भन्ने सर्वत्र चर्चा छ ।

अहिलेको निर्वाचन प्रक्रियामा सबै कागजात एन्फा सचिवालय प्रमुखको हैसियतमा तुलाधरले प्रमाणित गरेर निर्वाचन समितिलाई दिन्छन् । अर्थात्, समिति स्वतन्त्र छैन । समितिले विधानविपरीत भन्दै लेखा समितिका सदस्य दीपक थापा, केन्द्रीय सदस्य प्रविन यादव र पेमा डोल्मा लामा तथा स्थायी समितिका संयोजक उत्तम भण्डारीको मताधिकार स्विकारेन । यसैलाई अपिल कमिटीमार्फत उल्टाउन तुलाधरले सकै शक्ति प्रयोग गरेर मिहिनेत गरिरहेको अर्को पक्षको दाबी छ । हालको एन्फाको निर्वाचन प्रयोजनको अपिल कमिटी सदस्य अधिवक्ता सुधा रिजाल आफ्नै गोजिको मान्छे भन्दै निर्वाचन समितिले अफ्नो विपक्षमा गरेका निर्णय उल्टाइदिन्छु भन्दै आफ्नो समूहमा गफ गर्ने गरेको समेत व्यापक चर्चा छ ।

बर्षौंदेखि नेपाली फुटबलमा विवाद सिर्जना गराउँदै फाइदा उठाउन सातिर खेलाडी तुलाधर अहिलेको खेलमा कति सफल हुन्छन् या गुमाउँछन त्यो भने हेर्न बाँकी छ ।