March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

पीएनजीमाथि नेपालको जित

1.5K

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको छ ।

यूएईको सारजाहमा बुधबार भएको खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको हो ।

पीएनजीले दिएको २ सय ५ रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।

Advertisement

खराब सुरुवात गरेको नेपालको लागि पाँचौं विकेटको लागि रोहित कुमार पौडेल र आरिफ शेखले कीर्तिमानी १ सय २ रनको शतकीय साझेदारी गरेपछि नेपालको जित सम्भव भएको हो ।

रोहितले ८५ बलमा ४ चौका प्रहार गर्दै ५८ रन बनाए । आरिफले ८१ बलमा ५३ रन बनाउँदै पेभिलियन फर्किए ।

यस्तै करण केसीले आक्रामक ब्याटिङ गर्दै अविजित रहदै २९ रन बनाए । अन्य खेलाडीले सम्झन लायक ब्याटिङ प्रदर्शन गरेनन् ।

आसिफ शेख १६, बिनोद भण्डारी ११, दिपेन्द्र सिंह ऐरी ८, ज्ञानेन्द्र मल्ल ४, सोमपाल कामी ८ र कुशल भुर्तेल १ रनमा आउट भए ।

पीएनजीका नोरम्यान भानुवा, रिले हेकुरे र एली नाओले २/२ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।

पीएनजीका लागि चार्ल्स अमिनीले ५९ रनको अर्धशतकीय इनिङ खेले । सोमपालको ओभरमा दिपेन्द्रको हातबाट आउट हुनुअघि उनले ८२ बल खेल्दै ७ चौका प्रहार गरे ।

यस्तै ओपनर टोनी उराले २७ तथा लेगा सियकाले २५ रन बनाए । चाद सोपरले ३५, नोरमान भानुले २३ असद भालाले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

नेपालका सोमपाल कामीले ३ विकेट लिए । यस्तै सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान १/१ विकेट लिए ।  

अब नेपालले दोस्रो खेलमा घरेलु टोली युएईसँग शुक्रबार खेल्नेछ ।  यस्तै नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।

नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।

लिग टु मा कुल ७ टिम सहभागि रहेका छन् ।

नेपालले ९ खेलमा १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । अंक विहीन पीएनजी १४ खेल खेल्दै पुछारमा रहेको छ ।