काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । अन्तिम १६ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा रेडबुल साल्सबर्गलाई ७-१ गोल अन्तरले हराउँदै समग्रमा ८-२ को जितसँगै बायर्न क्वाटरफाइनलमा पुगेको हो ।
पहिलो लेगमा बायर्न र साल्सबर्गले १-१ गोलको बराबरी खेलेको थियो । घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरे ।
खेलको १२ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । २१ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टी बाटै व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको २३ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गरेपछि बायर्नको अग्रता तेब्बर बन्यो । खेलको ३१ औं मिनेटमा सर्जी जिनाब्रीले गोल गरेपछि बायर्नले ४-० को अग्रता बनायो ।
थोमस मुलरले ५४ औं मिनेटमा गोल गर्दै टिमको अग्रता ५-० को बनाए ।
खेलको ७० औं मिनेटमा साल्सबर्गका केजरगार्डले गोल गर्दै खेल ५-१ को स्थितिमा ल्याए । खेलको ८३ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ६-१ को बनाए ।
त्यसपछि ८६ औं मिनेटमा लोरी सानेले गोल गर्दै बायर्नलाई ७-१ को जित दिलाए ।