November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सङ्खुवासभाका स्थानीय खेलाडीहरू सम्मानित

4.3K

सङ्खुवासभा । सङ्खुवासभाका स्थानीय खेलाडीहरू सम्मानित भएका छन् । जिल्लाको चैनपुर नगरपालिका वडा नं ४ र वडा अन्तर्गत रहेको खेलकुद विकास समितिको संयुक्त आयोजनामा स्थानीय खेलाडीहरूलाई सम्मानित भएका हुन् ।

नगरपालिकाको वडा नं ४ का वडाध्यक्ष धनबहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा चैनपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष तथा पूर्व ब्याडमिन्टन खेलाडी काली बहादुर लिम्बु प्रमुख अथिति रहेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा लिम्बुले जिल्लाभित्र तथा बाहिर आयोजित दर्जनौं खेल उपाधि चुमेका विशेष गरी वडा नं ४ का खेल क्याप्टेन आकाश बुढाथोकी लगायत सम्पूर्ण खेलाडी तथा सहयोगी निकायहरु तारिफ र सम्मान योग्य रहेको भन्दै एकमुष्ट बधाई तथा शुभकामना ज्ञापन गर्दै उनीहरूको हौसलाको लागि स्थानीय निकाय तथा अभिभावकहरू अझै जिम्मेवार बन्नुपर्ने कुरामा जोड थिएका थिए ।

Advertisement

अथितिकै रूपमा उपस्थित वडा खेलकुद सचिव राम बहादुर बुढाथोकी, युवा नेता साथै वडा खेलकुद व्यवस्थापक मनोज तामाङ लगायतले मन्तव्य दिने क्रममा आआफ्नो क्षेत्रमा थप जिम्मेवारपूर्ण भूमिका निभाउने , स्थानीय युवा तथा खेलाडीहरूलाई टिकाउन अनि नयाँ खेलाडी उत्पादन गर्ने साथै आगामी दिनहरुमा खेलकूदलाई व्यवसायिक बाटोमा लैजान हरसम्भव प्रयास गर्ने प्रतिज्ञा जाहेर गरेका थिए । साथै यस प्रकारको कार्यक्रमले स्थानीय खेलाडीहरूमा मनोवल र हौसला समेत बढाउन ठूलो भुमिका निर्वाह गरेको र गर्ने भएकोले ४ नम्बर वडा प्रति आभार व्यक्त गर्दै वडा खेलकुद टीम क्याप्टेन आकाश बुढाथोकीले आगामी दिनहरुमा आफुहरुले उच्च खेल प्रदर्शनी र उपाधि जित्नेमा विस्वस्त रहेको कुरा उल्लेख गरेका थिए ।

सोमबार सम्पन्न उक्त कार्यक्रममा स्थानीय खेलाडीहरू तथा अभिभावकहरूको उपस्थिति रहेको थियो भने खेलाडीहरूले विभिन्न स्थानबाट जितेर ल्याएको ट्रफि र पदकहरूको समेत प्रदर्शन गरेका थिए ।