June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

श्रीलंकाको पोस्टमा नेपालको आधा दर्जन गोल

4.4K

काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंकालाई हराएको छ  । बंगलादेशको  ढाकामा नेपालले बुधबार श्रीलंकालाई ६-० गोलको फराकिलो अन्तरले हराएको हो ।

ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले दुई गोल गरिन् । यस्तै सबिता राना मगर, मेनुका कुमारी आले मगर, सलोनी राना मगर र रजनी थोकरले एक एक गोल गरिन् ।

खेलको पाँचौ मिनेटमा रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाईन् । प्रिती राईको पासमा रश्मीले पेनाल्टी एरियाको बाहिरबाट गोल गरिन् ।

Advertisement

सातौं मिनेटमा सबिताले गोल गर्दा नेपालको अग्रता २-० को बन्यो । रश्मीको फ्री-किकमा सबिताले सहजै गोल गरिन् ।

May be an image of 11 people and people standing

खेलको ४३ औं मिनेटमा मेनुकाले गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाईन । सबिताको क्रसमा उनले गोल गरेकी हुन् । खेलको ४८ औं मिनेटमा सलोनी राना मगरको क्रसमा रजनीले गोल गर्दै नेपाललाई ४-० को अग्रता दिलाईन् ।

खेलको ५३ औं मिनेटमा सलोनीले गोल गर्दा नेपालको अग्रता ५-० को बन्यो  । त्यसपछि खेलको ८५ औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६-० को जित दिलाईन् ।

यस जितसँगै जारी च्याम्पियनसिपमा नेपालले पहिलो जित दर्ता गरेको छ । नेपालले २ खेलमा ४ अंक जोडेको छ । नेपाल दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो।

श्रीलंकाको यो लगातार तेस्रो हार हो । पुछारको श्रीलंका अंक विहीन रहेको छ ।

May be an image of 8 people and people standing

च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्नेछ।

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ ।

आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् ।

शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल डिसेम्बर २१ मा हुनेछ।