January 27, 2022, Thursday
२०७८ माघ १४
1:37:26 pm

नेपाली गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म बन्ने

२०७८ कार्तिक ३०

535

इलाम : नेपाली महिला राष्ट्रिय टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित बायोपिक फिल्म बन्ने भएको छ। नेपाली राष्ट्रिय टोलीकी पहिलो रोजाइकी गोलकिपर इलामको सूर्योदय नगरपालिकाकी एन्जिलाको जीवनमा आधारित रहेर केन्द्र मोसन पिक्चर्सले बायोपिक बनाउने भएको हो।

नेपालको यु–१४ हुँदै सन् २०१६ बाट सिनियर टोलीको पहिलो रोजाइको गोलरक्षक हुन्। २५ वर्षीया एन्जिलाले पनि आफ्नो बायोपिक फिल्म बन्ने लगभग निश्चित भएको प्रतिक्रिया दिइन्। ‘बायोपिक बन्ने कुरा अन्तिम चरणमा पुगेको छ,’ उनले भनिन्, ‘ सबै कुरा मिलाएर सुटिङ गर्ने भनेको छ।’

प्रेम श्रेष्ठ, केन्द्र लिम्बू, विनोद अग्रवाल र राजेश अग्रवालको लगानीमा बन्ने बायोपिकलाई मिलन चाम्सले निर्देशन गर्दैछन्। निर्देशक चाम्सले केही दिनपछि बायोपिकका अन्य कलाकार सार्वजनिक गर्ने बताए।

Advertisement

‘एन्जिलासहित अन्य कलाकार छनोट भइसक्नुभएको छ। केही दिनपछि प्रेस मिट गरेर सार्वजनिक गरिनेछ,’ चाम्सले भने, ‘नेपालका चर्चित कलाकार बायोपिकमा रहनुहुनेछ।’

चाम्सले नायिका सृष्टी केसीको बायोपिक ‘ब्लाइन्ड रक्स’ बाट उत्कृष्ट निर्देशकको पुरस्कारसमेत पाएका छन्। अन्तरजातीय विवाहको वास्तविक कथामा आधार रहेर ‘बबी’ फिल्मसमेत निर्देशन गरेका छन्।

यसअघि नेपालमा खेलकुद सम्बन्धी चलचित्र बनेको भएपनि वास्तविक कथामा खेलाडी आफैंले अभिनय गरेका थिएनन्।

एन्जिलाको बायोपिक बन्ने भएपछि नेपाली खेलकुदमा विशिष्ट योगदान गरेका बैकुण्ठ मानन्धर, संगीना वैद्य, दीपक विष्टजस्ता खेलाडीको बायोपिक बन्ने सम्भावना रहेको छ।