November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सिटीको जितमा गोलको वर्षा

1.7K

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा गोलको वर्षा भएको खेलमा म्यानचेस्टर सिटीले जित हासिल गरेको छ ।

बुधबार राति ९ गोल भएको खेलमा इङ्लिस क्लब सिटीले जर्मन क्लब आरबी लाइपजिगलाई ६–३ गोल अन्तरले हरायो ।

ज्याक ग्रिलिसले सिटीबाट च्याम्पियन्स लिगमा डेब्यु गरेको खेलमा उत्कृष्ट गोल गरे ।

Advertisement

सिटीले बुन्डेसलिगको उपविजेता लाइपजिगमाथि उत्कृष्ट आक्रमक खेल पस्किएको थियो । सिटीले समूह एमा जित सहित च्याम्पियन्स लिगको यस सिजनको सुरुवात गरेको छ ।

सिटीले गत सिजन फाइनलमा चेल्सीसंग नमिठो हार ब्यहोरेको थियो ।

कीर्तिमानी मुल्य सहित सिटी आएका ग्रिलिसले इतिहादमा सिटीलाई ४–२ गोल अन्तरले अघि बढाउन गोल गरेका थिए ।

नाथन एकेको हेड गोलमा सिटीले खेलमा अग्रता बनाएको थियो । नोर्डी मुकीको आत्मघाति गोल गर्दा सिटीले अग्रता दोब्बर बनायो ।

क्रिस्टिोफर नकुन्कुले गोल गर्दै पाहुना टोली लाइपजिगलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमा रियाद महरेजले गोल गर्दै सिटीलाई ३–१ ले अघि बढाएका थिए ।

नकुन्कुले दोस्रो हाफको सुरुवातमै गोल गर्दै खेललाई ३–२ को अवस्थामा पुर्याएका थिए । तर ग्रिलिसको गोलमा सिटी ४–२ ले अघि बढेको थियो । ७३ औं मिनेटमा नकुन्कुले ह्याट्रिक पुरा गर्दै खेललाई ४–३ को रोमाञ्चक अवस्थामा पुर्याएका थिए ।

तर जोआओ क्यान्सलो र वैकल्पिक खेलाडी ग्याब्रियल जिससले गोल गर्दै सिटीलाई ६–३ को प्रभावशाली जित दिलाए ।

खेलको अन्तिम ११ मिनेट लाइपेजिगले १० खेलाडीमा सिमित रहेर खेलेको थियो । सिटीका पूर्व खेलाडी एन्जेलिनो ७९ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।

समूह एमा सिटीले ३ अंक जोडेको छ । लाइपेजिग अंक विहिन छ । पीएसजी र क्लब ब्रुगले बराबरी खेल्दै समान १÷१ अंक जोडेका छन् ।