November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपालले ओमानलाई दियो १ सय ९७ रनको लक्ष्य

2K

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको दोस्रो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा नेपालले  ओमानसामु १ सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

युवा ब्याट्सम्यान आशिफ शेखको ९० रनको मद्दतले नेपालले १ सय ९६ रन जोडेको छ। ओमानको घरेलु मैदान अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १ सय ९६ रनको योगफल खडा गरेको हो।

ओपनर कुशल भुर्तेल दुई बलको सामना गरेर शून्यमा पेभेलियन फर्किँदा कप्तान ज्ञानेन्द्र मल्लले २१ रनमा आउट भए। अमेरिकाविरुद्धको खेलमा अविजित अर्धशतक बनाएका रोहित पौडेलले पनि २० रन मात्रै जोडेर पेभेलियन फर्किँए।

Advertisement

करण केसीले ४८ बलमा २१ रन जोडे। सन्दीप लामिछानेले १० बलमा १६ रन बनाएर आउट हुँदा सुशन भारी २ रनमा अविजित रहे। विनोद भण्डारी ६, सोमपाल कामी ७, कुशल मल्ल ४ र विक्रम शोब २ रन बनाएर आउट भए। ओमानका लागि तीव्र गतिका बलर बिलाल खानले १० ओभरमा ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै, नेस्टोर धाम्बाले २ तथा मोहमद नदिम र जिशन मक्सुदले १/१ विकेट लिए। 

ओमान लिग–२ को सबैभन्दा सशक्त टोली हो। सात टोलीमध्ये ओमान लिग तालिकामा शीर्ष स्थानमा छ। उसले १० खेलमध्ये आठ खेल जितेको छ।

सोमबार अमेरिकालाई पराजित गरेको नेपाली टिममा आज कुनै परिवर्तन गरिएको छैन। अमेरिकामाथि पाँच विकेटको जित हात पारेर प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको नेपालका लागि ओमानसँगको स्पर्धा चुनौतीपूर्ण देखिएको छ।