May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

त्रिकोणात्मक सिरिज : नेपालले पहिलो खेल अमेरिकासँग खेल्ने

2.1K

काठमाडौं- आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिजको खेल तालिका सार्वजनिक भएको छ। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार खेल तालिका सार्वजनिक गरेको हो।

सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेल भदौ २८ मा अमेरिकासँग खेल्ने छ। यस्तै, दोस्रो खेल भदौ २९ मा ओमानसँग खेल्ने छ। तेस्रो खेल अमेरिकासँग असोज १ मा खेल्ने छ। अन्तिम खेल असोज ३ मा  ओमानसँग खेल्ने छ।

Advertisement

त्रिकोणात्मक सिरिज अघि तयारीको लागि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई ओडिआई खेल्ने छ। नेपालले पहिलो खेल भदौ २० मा खेल्नेछ। दोस्रो ओडिआई भदौ २३ मा खेल्नेछ। नेपाली टोली मंगलबार ओमान पुगिसकेको छ। 

नेपालले गतवर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग- २ मा डेब्यू गरेको थियो । त्यसपछि नेपालले भने घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग टी२० आई त्रिकोणात्मक सिरिज खेलेको थियो।

नेपालसहित, ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरि ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन्। होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ। 

१० खेल खेलेको ओमान ८ मा जित र २ मा हारसहित १६ अंक तालिकामा शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हारसहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ। 

स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हारसहित ९ अंकका साथ तेस्रो स्थानमा छ।

नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंक सहित चौथो स्थानमा छ। युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ। 

नेपाल ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी अंक विहिन हुँदै पुछारमा छ।