काठमाडाैं- टाइब्रेकरमा स्पेनलाई पराजित गर्दै इटाली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ।
इंग्ल्यान्डस्थित वेम्बली स्टेडियममा बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा लम्बिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको हाे।
जहाँ स्पेनलाई ४-२ ले पराजित गर्दै इटाली उपाधि नजिक पुगेकाे छ। इटालीका म्यानुएल लोकाटेलीको प्रहार गोलरक्षक उनाइ सिमोनले बचाए।
तर, आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको किएजा र जोर्जिन्होले भने गोल गरे।
पेनाल्टीमा स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे। डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन्।
त्यस अगाडि पहिलो हाफमा निकै आक्रमक खेल खेलेकाे स्पेनले अवसर सिर्जना गरेपनि गोल गर्न सकेन।
६०औं मिनेटमा फेडेरिकोले गोल गर्दै इटालीलाई शुरुवाती अग्रता दिलाएका थिए। सिरो इमोबिलको पासमा उनले गोल गरेका थिए।
तर,८०औं मिनेटमा स्पेन खेलमा फर्कियाे। वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फरवार्ड अल्भारो मोराटाले गोल गर्दै खेल १-१ को स्थितिमा ल्याएका थिए। उनले पेनाल्टी क्षेत्रको बाहिरबाट ड्यानी ओल्मोले दिएकाे पासमा गाेल गरेका थिए।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो। योसँगै इटलीको अपराजित यात्रा ३३ खेलसम्म लम्बिएको छ।
फाइनलमा इटलीले डेनमार्क र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ।
यी दुई टोली दोस्रो सेमिफाइनलमा भाेलि राति पौने १ बजे आमनेसामने हुनेछन्।