काठमाडाैं- स्पिनर निदा रशिद डार टी २० क्रिकेटमा १ सय विकेट लिने पहिलाे पाकिस्तानी महिला क्रिकेट खेलाडी बनेकी छिन्।
३४ वर्षीया निदा डार पाकिस्तानबाट १ सय ६ अन्तर्राष्ट्रिय खेल खेल्दै १ सय १ विकेट लएकी हुन्। अन्तर्राष्ट्रिय महिला क्रिकेटमा १ सय विकेट लिने उनी पाँचौँ क्रिकेटर हुन्।
सन् २०१०मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी डारले ९४ इनिङ्समा ११ सय ६१ रनसमेत बनाएकी छिन्।
रि विवियन रिचर्डस स्टेडियम नर्थ साउथ एन्टीगुवामा घरेलु टोली वेष्ट इन्डिजसँग भएको सिरिज अन्तर्गतको पहिलो खेलमा उनले २ विकेट लिएकी थिइन्।
पाकिस्तानसँगको ३ खेलको टी २० शृङखलामा वेष्ट इन्डिजले १–० को अग्रता लिएको छ। बिहीबार पाकिस्तान वेष्ट इन्डिजसँग १० रनले पराजित भएको थियो।
वेस्ट इन्डिजले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २६ रनमा समेटिएको थियो।
हालसम्म १ सय २० विकेट लिएकी वेष्ट इन्डिजकी ३२ वर्षीया अनिसा मोहम्मद शीर्ष स्थानमा छिन्। सन् २००८ मा डेब्यू गरेकी उनले १ सय १२ खेलको १ सय ८ इनिङ्समा १ सय २० विकेट लिएकी हुन्।
सर्वाधिक विकेट लिनेको दोस्रो स्थानमा अष्ट्रेलियाकी एलिस एलेक्जान्ड्रा पेरी छिन्। उनले १ सय २३ खेलमा १ सय १५ विकेट लिएकी छिन्।
यता, साउथ अफ्रिकाकी शबनिम इस्माइलले १ सय १० विकेट लिएकी छिन्। १ सय २ विकेट लिएकी इङल्याण्डकी अन्या श्रब्सोल चौथो स्थानमा छिन्।