काठमाडाैं- अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै इटाली युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।
इंग्ल्याण्डकाे वेम्बली स्टेडियममा शनिबार राति भएकाे प्रि-क्वाटरफाइनलमा इटाली र अष्ट्रियाले निर्धारित ९० मिनेटमा गाेल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएकाे थियाे।
जसमा इटाली भाग्यमानी सावित भयाे। अतिरिक्त समयमा इटालीले वैकल्पिक खेलाडीको मद्दतमा २- १ काे जित निकाल्याे। खेलको सुरुवातदेखि नै इटालीले बल पोसेसनमा पकड जमाएकाे थियाे। तर, अष्ट्रेलियाका डिफेन्डरकाे चुनाैति पन्छ्याउन नसक्दा खेलमा अग्रता लिन सकेको थिएन।
दोस्रो हाफमा अष्ट्रियाले गोल गरेपनि भीएआरले मान्यता नदिँदा खेल अतिरिक्त समयमा लम्बिएको थियो।
९५औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेडरिको चिइसाले अष्ट्रियाका डिफेन्डरलाई करिब ६ यार्डबाट बिट गर्दै प्रहार गरेकाे बल गाेलमा परिणत भएकाे थियाे। उनी खेलको ८४औं मिनेटमा डोमिनिको बेरार्डीको स्थानमा मैदान प्रवेश गरेका थिए। उनकाे याे जारी प्रतियाेगितमा पहिलाे गाेल हाे।
१०४औं मिनेटमा लोरेन्जो इन्सिग्नेले प्रहार गरेको फ्रिकिकलाई ब्याकमानले उत्कृष्ट डाइभ दिँदै विफल पारे। यस्तै, १०५औं मिनेटमा माटियो पेसीनाले इटालीकाे अग्रता दाेब्बर बनाए। उनले पेनाल्टी क्षेत्रभित्र डिफेन्सले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए।
उनी ६७औं मिनेटमा निकोला बरेलाको स्थानमा मैदान प्रवेश गरेका थिए। उनकाे याे गाेल जारी प्रतियाेगितामा दाेस्राे हाे। यसअगाडी उनले समूह चरणमा वेल्सविरुद्ध गाेल गरेका थिए।
१०६औं मिनेटमा डोनारुम्माले राम्रो बचाउ गर्दै इटालीको अग्रता जोगाए। उनले लुइस स्वाउबले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई आफ्नो बायाँतर्फ डाइभ दिँदै बचाएका थिए।
यस्तै, खेलकाे ११४औं मिनेटमा अष्ट्रेलियाका सासा कालाजजिकले सान्त्वना गाेल गरे। लुइस स्वाउबको कर्नरमा वैकल्पिक फरवार्ड सासाले निअर पोस्टमा डाइभिङ हेडर गर्दै गोल गरे। यससँगै इटालीले लगातार ११ खेलमा गोल नखाएको कीर्तिमानमा पुर्णविराम लागेको छ।
त्यसअगाडी १७औं मिनेटमा निकोलो बारेल्लाको प्रहारलाई गोलरक्षक ड्यानीएल ब्याकमानले खुट्टाले बचाएका थिए।
त्यसको दुई मिनेटपछि नै बारेल्लाको प्रहारलाई डिफेन्डर हिन्टरेगरले छेक्दै गोलको खतरा टारे। ३२औं मिनेटमा इटालीका चिरो इम्मोबिलेले झन्डै २७ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक ब्याकमानलाई बिट गरेपनि पोस्टमा लाग्दै बाहिरिएको थियो।
३६औं मिनेटमा डेविड अलाबाको फ्रिकिक क्लियर गरेपछि आएको अवसरलाई इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्माले सहजै बचाएका थिए।
यस्तै,६५औं मिनेटमा अष्ट्रियाका मार्को अर्नाउटोभिचले गोल गरेका थिए। लाइनरको क्रसलाई अलाबाले हेडर गरेपछि फार पोस्टमा अर्नाउटोभिचले पोस्टको दिशा दिएका थिए। तर, भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर)ले अर्नाउटोभिचको अन्तिम टचलाई अफसाइड भन्दै गोलकाे मान्यता दिएन।
८२औं मिनेटमा स्पिनाजोलाको क्रसमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा बेरार्डीको एक्रोब्याटिक प्रहारले दिशा लिन सकेन।
यस खेलको विजेताले आइतबार हुने बेल्जियम र पोर्चुगलबीच खेलको विजेतासँग खेल्नेछ। उक्त क्वाटरफाइनल खेल २ जुलाईमा म्युनिखमा हुनेछ।
८२ वर्ष पुरानो आफ्नै कीर्तिमान भंग
इटली समूह ए को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। समूह चरणमा तीन खेल जित्ने तीन टिममध्ये एक रहेको इटली गोल नखाने एक्लो टिम हो।
इटलीले समूह चरणमा टर्की र स्वीट्जरल्याण्डलाई समान ३-० ले र वेल्सलाई १-० ले पराजित गरेको थियो।
समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको इटलीले अष्ट्रियाविरुद्ध खेल्दा ३१ खेलमा अपराजित रहने कीर्तिमान बनाएकाे छ। वेल्सलाई हराएपछि इटलीले सन् १९३५ देखि १९३९ सम्मको ३० खेलमा अपराजित रहेको आफ्नै कीर्तिमानसँग बराबरी गरेको थियो। अष्ट्रियाविरुद्ध जित हात पारेसँगै इटलीले आफ्नै कीर्तिमान भंग गरेकाे हाे।
इटालीले सन् १९३५ अक्टोबर देखि सन् १९३९ जुलाईसम्म ३० खेल अपराजित रहने कीर्तिमान राखेको थियो। त्यसबेला टोलीका प्रशिक्षक भिटोरियो पोज्जो थिए। उनको नेतृत्वमा टोलीले लगातार दोस्रो विश्वकप तथा सन् १९३६ को ओलम्पिकमा स्वर्णपदकसमेत जितेको थियो।
इटालीले सन् २०१८ मा रोबर्टो मान्सिनीलाई प्रशिक्षकको जिम्मेवारी दिएपछि जाममा २ खेल हारेको छ। पछिल्लोपटक टोलले सन् २०१८ को नेसन्स लिगको खेलमा पोर्चुगलसँग पराजय बेहोरेको थियो। त्यसयता टोलीले ३० खेल जितेको छ। यस्तै पछिल्लो ११ खेलमा टोलीले गोलपनि खाएन।
यस्तै, इटाली हालसम्म ३४ गाेल गरेकाे छ। अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेलमा अपराजित रहने कीर्तिमान ब्राजिल र स्पेनको नाममा छ। दुवै टिम लगातार ३५ खेलमा अपराजित रहेका थिए।