November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युराेकप : वेल्समाथि सानदार जित हासिल गर्दै डेनमार्क क्वाटरफाइनलमा

1.7K

काठमाडाैं- डेनमार्क युरोपेली च्याम्पियनसिप २०२० काे क्वाटरफाइनलमा पुगेकाे छ। 

नेदरल्याण्डस्थित योहान क्राएफ एरिना आम्स्टर्डममा शनिबार राति भएकाे प्रि-क्वाटरफाइनलमा १० खेलाडीमा सिमित वेल्समाथि ४–० काे सानदार जित हासिल गर्दै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे।

डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे। जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक/एक गोल गरे।

Advertisement

२७औं मिनेटमा डोलबर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाए। पेनाल्टी क्षेत्र बाहिरबाट विंगर मिकेल डाम्सगार्डले दिएको पासमा डोलबर्गले गरेको प्रहारलाई गोलरक्षक ड्यानी वार्डले डाइभ दिएपनि जोगाउन सकेनन्।

दोस्रो हाफमा सुरुवातमै डोलवर्गले व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई २-० को अग्रता दिलाए। वेल्सका निको विलियम्सकाे क्लिअरेन्स सिधै डोलबर्गको खुट्टामा पुगेको थियो। उनले ६ यार्ड बक्सबाट सहजै गोल गरे।

८८औं मिनेटमा माहेलले गोल गर्दै डेनमार्कलाई ३-० को अग्रता दिलाए। वैकल्पिक खेलाडी माथिअस जेन्सनले दिएको पासलाई माहेलले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गरेको प्रहार गोल भएको थियो।

खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो। माहेलमाथि खराब ट्याकल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए।

त्यसपछि खेलको अन्तिम समयमा मार्टिनले गोल गर्दै डेनमार्कलाई ४-० को सानदार जित दिलाए। उनले पेनाल्टी क्षेत्रभित्र वार्डलाई बिट गरेकाे प्रहार गाेलमा परिणत भएकाे थियाे। रेफ्रीले सुरुवातमा अफसाइड दिएपनि भिडियो असिस्टेन्स रेफ्री (भीएआर) रिभ्युबाट गोलले मान्यता पाएको थियो।

यस जितसँगै डेनमार्क जारी युरोकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टिम बनेको छ। वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ।