काठमाडाैं- आयाेजक ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेकाे छ। घरेलु मैदान ब्रासिलियास्थित स्टाडियो नासिओनाल माने गारिन्चामा साेमबार बिहान भएकाे उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३-० ले पराजित गरेकाे हाे।
ब्राजिल घरेलु मैदानमा खेलिएको कोपा अमेरिकाको २१ खेलसम्म अपराजित छ। पछिल्लो पटक ब्राजिल सन् १९७५ मा पेरुसँग घरेलु मैदानमा पराजित भएको थियाे।
ब्राजिललाई जित दिलाउन मार्क्विन्होस, नेयमार र गार्बियल बर्बोसाले एक/एक गाेल गरे। काेराेनाका कारण ९ खेलाडी गुमाएकाे भेनेजुएलालाई ब्राजिलले सुरुवाति समयदेखि नै दवावमा राखेकाे थियाे।
खेलको २३औं मिनेटमा ब्राजिलले अग्रता लियाे। मार्क्विन्होसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका हुन्। उनले कर्नरमा आएको बल क्लियर हुन नसक्दा ६ यार्डबाट हुलमुलमा गोल गरेका थिए। उनी य४७ औं संस्करणकाे काेपाकाे पहिलाे गाेलकर्तासमेत बनेका छन्।
२६औं मिनेटमा रिचार्लीसनले गोल गरे। तर, उनी अफसाइड रहेकाे भन्दै रेफीले उक्त गाेललाई मान्यता दिएन।
यस्तै, ६४ मिनेटमा ब्राजिलले अग्रता दाेब्बर बनायाे। ब्राजिलका लागि नेयमारले पेनाल्टीमा गाेल गरेका थिए। डानिलोलाई भेनेजुएलाका लुइस मार्टिनेजले पेनाल्टी बक्समा लडाएपछि ब्राजिलले पेनाल्टी पाएको थियो।
ब्राजिलका लागि याे नेयमारको ६७औं गोल हाे। उनी ब्राजिलका महान खेलाडी पेलेको कीर्तिमानभन्दा १० गोल पछि छन्। यस्तै, सकिन केही समय बाँकी रहँदा गार्बियलले गोल गरे। उनले नेयमारको पासमा गोल गाेल गर्दै ब्राजिललाई ३-० को जित दिलाए।
यस जितसँगै ब्राजिलले समूह ‘ए’ मा ३ अंक जोडेको छ। यस समूहको अर्को खेलमा केहीबेर पछि कोलोम्बिया र इक्वेडर भिड्दैछन्।