June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

नेपालमाथि जाेर्डनकाे दाेहाेराे जित

170

काठमाडाैं- फिफा कतार विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोट अन्तर्गत समूह  ‘बी’ खेलमा नेपाल जोर्डनसँग पराजित भएकाे छ। 

साेमबार कुवेत सिटीमा भएकाे खेलमा नेपाल ३-० ले पराजित भएकाे हाे। याे नेपालमाथि जाेर्डनकाे दाेहाेराे जित हाे।

यसअगाडि छनोट चरणको पहिलो खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको थियो। 

जोर्डनलाई जित दिलाउन बाहा फैसल सेफले दुई गोल गरे। यस्तै, याजन अलअरबको नाममा एक गोल रह्यो।

एकपक्षीय रहेकाे खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टीमार्फत अग्रता लिएकाे थियाे। रोहित चन्दले जाेर्डनका मोहमद सुलेमानलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। नेपाली गाेलरक्षक किरण चेम्जोङले सहि दिशामा डाइभ हानेपनि सेफकाे शक्तिशाली प्रहार रोक्न सकेनन्।

दोस्रो हाफको सुरुवातमै जोर्डनले अग्रता दोब्बर बनायाे। सेफले गरेको शक्तिशाली फ्रिकिक गोलरक्षक किरणलाई बिट गर्दै टप कर्नरमा गोल भएको थियो।

६८औं मिनेटमा जोर्डनले ३-० को अग्रता लियो। छोटो फ्रिकिकमा दायाँ विंगबाट आएको क्रसलाई अलअरबले फार पोस्टमा सहजै हेडरमार्फत गोल गरेका थिए।

यस जितसँगै जोर्डनको ६ खेलमा १३ अंक पुगेको छ। समान खेलमा १० अंकसहित कुवेत तेस्रो स्थानमा छ।

आज हुने अर्को खेलमा ५ खेलमा १५ अंकसहित शीर्षस्थानमा रहेको अष्ट्रेलियाले अंकविहिन चाइनिज ताइपेइसँग खेल्नेछ। नेपाल ६ अंकसहित चौथो स्थानमा नै छ।

नेपालले अब एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउन कम्तिमा अर्को खेलमा जित हासिल गर्नुपर्ने हुन्छ।  

हार बेहोरेपनि नेपालले प्लेअफको बाटोबाट एसियन कप छनोटमा स्थान बनाउने छ। नेपालले अब अर्को खेलमा शुक्रबार अष्ट्रेलियाको सामना गर्नेछ। खेल नेपाली समयअनुसार रातको ९:४५ सुरु हुनेछ।