November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

जोर्डनविरुद्ध हुनेछ नेपालको खास परीक्षा

2.4K

काठमाडाैं- कतारमा हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत नेपालले आज (सोमबार) जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘बी’ अन्तर्गत कुवेत सिटीको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति पौने दश बजे यी दुई टोलीको खेल शुरु हुनेछ। 

घरेलु मैदानमा खेल्नुपर्ने खेल नेपालले कोरोना महामारीको कारण ‘न्युट्रल भेन्यु’ का रुपमा कुवेतमा खेलिरहेको छ। समुह चरणका ८ मध्ये ६ खेल खेलिसकेको नेपालले अब दुई खेल खेल्न बाँकी छ। नेपालले सातौँ खेल जोर्डनसँग खेल्न लागेको हो। जोर्डनको भने यो छैटौँ खेल हो।

छनोट चरणको पहिलो खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको थियो। दोस्रो लेगमा नेपाल फरक रणनीतिमा मैदान उत्रने सम्भावना छ। खेलमा जित हात पारे मात्र एसियन कप छनोटको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना हुने भएका कारण नेपाल यो खेलमा फरक रणनीतिका साथ खेल्ने प्रयासमा हुनेछ।
चौथो स्थानमा रहेको नेपालका लागि आठ टिम सहभागी समूहको उत्कृष्ट ४ भित्र पर्न  जोर्डनसँग जित निकाल्नु पर्नेछ। 

Advertisement

समूह ‘एच’मा रहेको उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएका कारण कोरिया समूहको पाँचौ स्थानमा धकेलिएको छ। त्यसैले एएफसीले पाँचौ स्थानको टिमविरुद्ध हात पारेको जितलाई उत्कृष्ट चौथो टिम घोषणा गर्दा समावेश नगर्ने निर्णय गरेको थियो।

जसको घाटा नेपाललाई भएको छ। तर, जोर्डनविरुद्ध जित निकाल्न भने नेपाललाई त्यति सजिलो छैन। फिफा वरियतामा जोर्डन ९५ औं स्थानमा छ। यता, नेपाल १ सय ७१औँ स्थानमा। नेपालले अष्ट्रेलिया र जोर्डनलाई अहिलेसम्म हराउन सकेको छैन। 

नेपालले चाइनिज ताइपेइलाई छनोट खेलको दुवै प्रतिष्पर्धामा समान २-० ले हराएको थियो। यस्तै, पहिलो खेलमा कुवेतसँग ७-० को फराकिलो हार व्यहोरेको थियो। यस्तै, कुवेतसँग दोस्रो खेल १-० ले गुमाएको थियो। अष्ट्रेलियासँगको पहिलो खेलमा नेपाल ५-० ले पराजित भएको थियो।

नेपाल र जोर्डनबीच अहिलेसम्म ३ पटक भेट भएको छ। अहिलेसम्मको तीन वटै प्रतिस्पर्धामा नेपालले जोर्डनलाई हराउन सकेको छैन। यी दुई टोलीको पहिलो भेट सन् २०११ मा विश्वकप छनोटकै दौरान भएको थियो। 

२३ जुलाई २०११ मा भएको विश्वकप छनोटको खेलमा नेपाल जोर्डनसँग ९-० को फराकिलो अन्तरले पराजित भएको थियो। २८ जुलाईमा काठमाडौंको दशरथ रथंशालामा भएको खेलमा नेपालले जोर्डनलाई १-१ को बराबरीमा रोकेको थियो। सो खेलमा नेपालका लागि भरत खवासले गोल गरेका थिए। जोर्डनलाई बराबरीमा रोक्नु नै नेपालको अहिलेसम्मको उच्च प्रर्दशन हो।

यस्तै, सन् २०१९ को १५ अक्टोबरमा नेपाल र जोर्डनको तेस्रो प्रतिष्पर्धा भएको थियो। फिफा विश्वकप छनोट अन्तर्गतकै पहिलो खेलमा नेपाल ३-० ले पराजित भएको थियो। तीन खेलमा जोर्डनले १३ गोल गर्दा नेपालले केवल १ गोल गर्न सकेको छ।

अघिल्लो खेलमा दोस्रो स्थानको कुवेतलाई अस्ट्रेलियाले पराजित गरेकाले जोर्डन दोस्रो स्थानमा बलियो हुने रणनीतिमा छ। समूह चरणमा नेपाल ६ अंकसहित चौथो स्थानमा छ। शीर्ष स्थानको अष्ट्रेलियाको १५ अंक छ। 

दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १० अंक छ। अहिलेसम्म कुनै जित हासिल गर्न नसकेको चाइनिज ताइपेइ अंकविहीन छ।

हराउने दाउमा नेपाली प्रशिक्षक
जोर्डनविरुद्धको खेलअघि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्ध जितको लक्ष्यका साथ मैदान उत्रिने बताएका छन्। 

आइतबार भएको प्रि-म्याच कन्फ्रेन्समा जोर्डन बलियो भएपनि आफ्नो टोलीले पनि सक्दो मेहनत गरिरहेको बताउँदै प्रशिक्षक अलमुताइरीले नेपाली टोलीलाई कम आँक्न नमिल्ने बताए। 

‘कतिपय संचारमाध्यम जोर्डन निकै बलियो छ भनेर भनिरहेका छन्। हाम्रो कुनै सम्भावना नरहेको भन्ने सुनेको छु। तर, फुटबलमा त्यसो हुँदैन। दुवै टोलीका लागि खेल गोलरहित बराबरीमा सुरु हुने हो। मैदानमा गरेको प्रदर्शन अनुसार नै नतिजा आउँछ। हामीले उक्त खेलका लागि आफ्नो तर्फबाट मेहनत गरिरहेका छौं,’ उनले भने। 

उनले युरोपमा भएको खेलबाट समेत प्रभावित भएको बताउँदै नर्थ मेसेडोनियाले जर्मनीलाई २-० ले पराजित गरेको उदाहरण समेत दिए।

‘हामीले उत्तर म्यासेडोनियाले जर्मनीलाई पराजित गरेको देखेका छौं। जोर्डन बलियो टोली हो। हामी खेलको हरेक मिनेट राम्रो प्रदर्शन गर्न लागिरहेका छौं। सुरुवातदेखि नै हाम्रो लक्ष्य जित हासिल गर्नु नै हुनेछ। त्यसका लागि हरेक मिनेट राम्रो प्रदर्शन गर्नेछौं,’ उनले भने।

यदि नेपालले जोर्डनलाई पराजित गरे यसको फाइदा कुवेतलाई पनि हुनेछ। अष्ट्रेलिया शीर्ष स्थानमा छ र एसिया कप छनोट नजिक पुगिसकेको छ। त्यसैले कुवेत र जोर्डन समूहमा दोस्रो भएर एसिया कपमा छनोट हुने लक्ष्यमा छन्।

‘खेलाडीको मानसिकता बदलिएको छ। खेलाडीहरु उच्च मनोबलका साथ खेलिरहेका छन्। हामीले नतिजाका लागि भन्दापनि उच्च प्रदर्शन गर्ने लक्ष्य लिएर खेल्ने हो। चाइनिज ताइपेइको खेलअघि जस्तो तयारी गरिरहेका थियौं, त्यस्तै तयारी गरिरहेका छौं। जोर्डनविरुद्ध पनि आफ्नो स्थानबाट सक्दो तयारी गरिरहेका छौं,’ उनले भने।

तीन अंक लिने अपेक्षा
जोर्डनका कोच भाइटल बर्केलम्यान्सले नेपालसँगको खेलबाट आफूहरुले ३ अंक हासिल गर्ने सबैको अपेक्षा भए पनि फुटबलमा यसै हुन्छ भनी भन्न नसकिने बताए।

‘हामी सबैले तीन अंकको अपेक्षा गरेका छौं। तर यो फुटबल हो। मैले नेपाली टोली चाइनिज ताइपेइ र इराकसँग खेलेको हेरेँ र उनीहरुको स्तर र खेल्ने सिस्टम फेरिएको पाएको छु। फुटबलमा जे पनि हुन सक्छ,’ उनले भनेका छन्।

यद्यपि,  नेपालविरुद्धको खेल महत्वपूर्ण भएको बताउँदै उनले ३ अंक जोड्न ध्यान केन्द्रित गर्नुपर्ने उनले बताए।

‘छनोटका लागि हामीसँग ९ अंक छ, र यात्रा नेपालबाट शुरु हुन्छ। कुवेतसँगको भेटको महत्व हुने हामीले महसुस गरेका छौं,’ उनले भने।