November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

चेल्सीले दोस्रो पटक उचाल्याे च्याम्पियन्स लिगको उपाधि

1.8K

काठमाडाैं- लन्डन क्लब चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेकाे छ। 

पाेर्चुगलकाे पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा शनिबार राति भएकाे खेलमा प्रतिद्वन्द्वी क्लब म्यान्चेस्टर सिटीलाई १-० गाेल अन्तरले पराजित गर्दै चेल्सीले दोस्रो पटक उपाधि जितेकाे हाे। चेल्सीले यस अगाडी २०१२ मा च्याम्पियन्स लिगको उपाधि जितिसकेकाे थियाे।

चेल्सीकाे जितमा काइ हाभर्ट्जले गाेल गरे। उनले ४२ मिनेटमा गरेकाे गाेल नै चेल्सीका लागि उपाधि जित्न प्रयाप्त बन्याे।

Advertisement

सन माउन्टले दिएको उत्कृष्ट थ्रु पासलाई हाभर्ट्जले गोलरक्षक एडरसन मोराएसलाई छलाउँदै गोल गरेका थिए। 

चेल्सीमाथि सिटी हावी

खेल अवधिभर भने सिटीले चेल्सीलाई दबाब दिएकाे थियाे। ६१ प्रतिशत बल नियन्त्रणमा लिएको सिटीले चेल्सीकाे पाेस्टमा ७ प्रहार गरेका थिए। त्यसमध्ये १ सट टार्गेटमा रहेकाे थियाे।

यस्तै, ३९ प्रतिशत बल नियन्त्रणमा लिएको चेल्सीले भने ८ सट प्रहार गरेकाे थियाे। उसकाे दुई सट टार्गेटमा थियाे। 

पहिलाे हाफ दुवै टाेलीले केही उत्कृष्ट माैकाहरु खेर फ्यालेका थिए। खेलकाे १०औं मिनेटमै टिमाे वर्नरले माैका खेर फ्यालेका थिए। यस्तै, १९औं मिनेटमा पनि उनले बल राम्राेसँग कनेक्ट गर्न सकेनन्।

२७औं मिनेटमा फिल फाेडेनकाे उष्कृष्ट मुभलाई भेल्सीका डिफेन्डर एन्टोनियो रुडिगरले बिफल पारे। यस्तै, ३७औं मिनेटमा पनि उनैले कायल वालकरकाे प्रयास बिफल पार्दिए।

पहिलाे हाफमा चेल्सीले अनुभवी डिफेन्डर थियागो सिल्भा गुमाएका थिए। चाेट लागेपछि उनकाे स्थानमा आन्द्रे क्रिस्टेन्सेन छिरेका थिए। 

दाेस्राे हाफमा भने चेल्सी सम्हालिएर खेलेकाे थियाे। चेल्सीले ७३औं मिनेटमा गोल गर्ने सुवर्ण अवसर खेर फालेको थियो। क्रिस्टियन पुलिसिचको प्रहार गोलरक्षक मोराएस बिट भएपनि बलले पोस्टको दिशा लिन सकेन।

यस्तै, सिटीले दाेस्राे हाफमा मिडफिल्डर केभिन डे ब्रुएन गुमाउन पर्‍याे। डिफेन्डर रुडीगरसँग जुध्न पुग्दा उनको अनुहारमा चोट लागेकाे थियाे। त्यसपछि सिटी खेलमा फर्किन सकेन।

वैकल्पिक खेलाडीका रुपमा फरवार्ड सर्जियो अगुएरो मैदान छिरेका थिए। तर, उनी अन्तिम खेलमा हार आत्मसाथ गर्दै सिटीबाट बिदा भए। उनी यसै सिजन स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धन भएका छन्।

प्रिमियर लिगका प्रतिद्वन्दी यी दुई क्लबबीच यो सिजन  चाैथाे भेट हो। चेल्सीले यस अगाडी दुई खेल जितेको थियाे। प्रिमियर लिगमा दुवै टोलीले अवे खेल जितेका थिए।

एफए कपको सेमिफाइनलमा चेल्सीले सिटीलाई पराजित गरेको थियो। तर, फाइनलमा चेल्सी लेस्टर सिटीसँग पराजित भएको थियो।

सिटी इङ्लिस लिगमा स्थापित हुँदैगर्दा चेल्सीले पहिलो पटक च्याम्पियन्स लिग जितिसकेको थियो। सिटीले पहिलो पटक इङ्लिस प्रिमियर लिग २०१२ मा जितेको थियो। सोही सिजन चेल्सीले जर्मन महारथी बायर्न म्युनिखलाई उसैको मैदानमा हराएर च्याम्पियन्स लिग जितेको थियो।

२००८ मा पहिलो पटक फाइनलमा पुगेको चेल्सी म्यानचेस्टर युनाइटेडसँग पेनाल्टी शूटआउटमा पराजित भएको थियो।