काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गतको गतराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले जित हत पारेकोे छ।
शीर्ष स्थानको क्लब एट्लेटिकोले ओसासुनालाई २–१ गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा सम्पन्न खेलमा सुरुवाती अग्रता उल्टाएर एट्लेटिकोले जित निकालेको हो। जितसँगै एट्लेटिको उपाधिनजिक पुगेको छ।
खेलको ७५औं मिनेटमा एन्ट बुदिमिरले गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए। तर, खेलको ८२ औं मिनेटमा रिनन लोडीले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए।
खेलको ८८औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई २–१ को जित दिलाए।
जितसँगै ३७ खेलमा ८३ अंक जोडेको एट्लेटिकोले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ।
एट्लेटिको दोस्रो स्थानको रियल मड्रिड भन्दा २ अंकले अघि रहेको छ।
पराजित ओसासुना भने ४४ अंकका साथ लिग तालिकाको ११औं स्थानमा छ।