काठमाडाैं- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित निकालेको छ। चेन्नईले आफ्नो दोस्रो खेलमा पन्जाब किंग्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो।
पन्जाबले दिएको १ सय ७ रनको लक्ष्य चेन्नईले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो। चेन्नईको जितमा मोइन अलिले ४६ रनको योगदान दिए। उनले ३१ बलमा ७ चौका र १ छक्का प्रहार गरे। फाप डु प्लेसिसले ३३ बलमा ३ चौका र १ छक्कासहित अविजित ३६ रन बनाए।
अन्यले भने दाेहाेराे अंक छुन सकेनन्। सुरेश रैना ८, रितुराज गायकड ५ र साम करन ५ रनमा अविजित रहे। पन्जाबका मोहमद शामीले २ विकेट लिए। उनले ४ ओभरमा २१ रन खर्चिए।
आश्रदिप सिंह र मुरुगान आश्विनले १/१ विकेट लिए। उनीहरुले क्रमश: २ ओभरमा ७ र ३ ओभरमा ३२ रन खर्चिए। यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो।
पन्जाबका लागि शाहरुख खानले सर्वाधिक ४७ रन बनाए। उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। यता, जे रिचार्डसनले २२ बलमा २ चौकासहित १५ रन बनाए।