काठमाडाैं– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगाको सेमिफाइनलमा इटालियन क्लब रोमाको सामना गर्ने भएकाे छ। ओल्डट्राफोर्डमा बिहीबार राति भएको खेलमा स्पेनिस प्रतिद्धन्द्धी ग्रानडालाई २-० ले पराजित गर्दै युनाइटेड अन्तिम चारमा पुगेकाे हाे।
पहिलो लेगमा पनि युनाइटेड २-० ले विजयी भएको थियो। युनाइटेडका लागि एडिन्सन काभानीले एक गाेल गरे। यस्तै, एक गाेल उपहार पाएकाे थियो। खेलकाे छैटौं मिनेटमा नै काभानीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
उनले पल पोग्वाको पासमा गोल गरेका थिए। यस्तै, इन्ज्युरी समयमा जेसस भालेजोले आत्मघाती गोल गरेपछि युनाइटेड २-० काे सहज जित निकाल्दै अन्तिम चारमा पुग्याे।
अब युनाइटेडले फाइनल प्रवेशका लागि रोमाको सामना गर्नेछ। रोमाले डच क्लब आयाक्सलाई समग्रमा ३-२ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हाे। पहिलो लेगमा राेमाले २-१ को जित निकालेको थियाे।
यस्तै, दोस्रो लेगमा १-१ गोलको बराबरीमा रोकिएको थियो । खेलकाे सुरुवाति अग्रता अयाक्सले लिएपनि त्यसलाई जाेगाउन सकेन।