काठमाडौँ– आइपीएल क्रिकेटमा पन्जाब किंग्सले विजयी शुरूवात गरेको छ ।
सोमबार राति सम्पन्न खेलमा पञ्जाबले राजस्थानलाई ४ रनले हराउँदै विजयी शुरूवात गरेको हो ।
जितको लागि २ सय २२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रन बनायो ।
राजस्थानका कप्तान सञ्जु स्यामसनले ६३ बलमा १२ चौका र ७ छक्कासहित सर्वाधिक १ सय १९ रनको उत्कृष्ट शतकीय कीर्तिमानी इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् ।
राजस्थानलाई अन्तिम ओभरमा जितको लागि १३ रन आवश्यक परेको थियो । तीव्र गतिका बलर अर्शदीप सिंहले पहिलो बल स्यामसनलाई डट राखे । दोस्रो बलमा स्यामसनले एक रन बटुले । तेस्रो बलमा पनि अर्शदीपले एक रन दिए । चौथो बलमा स्यामसनले छक्का प्रहार गरे । तर पाँचौ बल डट राखेपछि खेल रोमान्चक बनेको थियो । अन्तिम बलमा स्यामसनले ठूलो सट प्रहार गरेपनि दीपक हुडाबाट क्याच आउट भएपछि पन्जाब विजयी भएको थियो ।
पन्जाबका मोहम्मद शामीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । राइली मेरिडिथ र झेय रिचर्डसनको नाममा १–१ विकेट लिए ।