April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

एपिएफले प्रदेश–१ लाई ८ विकेटले हरायो

245

इलाम – विभागीय टोली एपिएफले पहिलो संस्करणको ललितपुर मेयर वुमन्स क्रिकेटमा विजयी सुरुवात गरेको छ। त्रिवि खेलमैदानमा भएको उद्घाटन खेलमा एपिएफले प्रदेश–१ लाई ८ विकेटले हरायो।

टस जितेर व्याटिङ थालेको प्रदेश–१ ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। कप्तान रुविना क्षेत्री र रोमा थापाबाहेक अन्य व्याट्सवुमनले दोहोरो योगफल तयार पार्न सकेनन्। ४८ बल सामना गरेकी रुविनाले ४५ र ४२ बल सामना गर्दै रोमाले ३३ रनको योगदान दिइन्।

प्रदेश–१ ले पहिलो ओभरको तेस्रो बलमा अनुभवी व्याट्सवुमन अप्सरी वेगमलाई शुन्यमा गुमायो। रेखा रावलले अप्सरीलाई बोल्ड गर्दै पेवोलियन फर्काइन्। दोश्रो विकेटका लागि विकेटकिपर व्याट्सवुमन  काजल श्रेष्ठले कप्तान रुविनासँग २६ रनको साझेदारी गरिन्।

काजल ५ रनमा करुणा भण्डारीको बलमा इन्दु वर्माको हातबाट क्याच आउट भइन्। रोमा थापा र कप्तान रुविनाले प्रदेश–१ को व्याटिङ लाइनलाई सुधार गरे। १७ औँ ओभरको चौथो बलमा रुविना रनआउट भएपछि ६६ रनको साझेदारी तोडिएको थियो। १८ औँ ओभरको अन्तिम बलमा विना बुढा मगरले रोमालाई सुस्मा श्रेष्ठको हातबाट क्याच गराउँदै पेवोलियन फर्काइन्।

प्रदेश–१ की निग्मा तामाङले ७ र निशा शाहले ५ रनको योगदान दिए। प्रदेश–१ ले ११ रन अतिरिक्त पाएको थियो।

१०७ रनको जवाफी लक्ष्य पछयाएको एपिएफले १८ ओभरमा जित निकाल्यो। एपिएफको जीतमा  कप्तान सिता राना मगर र ज्योती पाण्डेले ७० रनको साझेदारी गरे। ५० बल सामना गरेकी सिताले नटआउट रहदै ५२ रनको योगदान दिइन्। उनी ललितपुर च्याम्पियनसिपमा अर्धशतक पूरा गर्ने पहिलो खेलाडी बनेकी छन्।

ज्योतीले ४० बलमा ३२ रन बनाइन्। १३ औ ओभरको तेस्रो बलमा संगीता राईले अप्सरीको हातबाट क्याच गराउँदै ज्योतीलाई पेवोलियन फर्काइन्। १० बल खेल्दै ६ रन बटुलेकी सरिता मगरलाई १६ औ ओभरको अन्तिम बलमा रुविनाले विकेटकिपर काजलको हातबाट स्टम्प आउट गराइन्। इन्दु बर्माले नटआउट ८ रन बटुलिन्। एपिएफले ९ रन अतिरिक्त पाएको थियो। अर्धशतक प्रहार गरेकी सिता प्लेयर अफ दि म्याच घोषित भइन्।

३ महिना अघि सम्पन्न प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा प्रदेश–१ ले एपिएफलाई ६ रनले हराउदै उपाधि जितेको थियो। अहिले ललितपुर मेयर–११ र सुदुर पश्चिमबिच प्रतिस्पर्धा भइरहेको छ।  प्रदेश–१ ले आफ्नो दोस्रो खेलमा सोमबार लुम्बिनी प्रदेशसँग खेल्दा एपिएफले आइतबार सुदूरपश्चिमको सामना गर्नेछ।