काठमाडौं- च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगको खेलमा केलियन एमबाप्पेको ह्याट्रिक मद्दतमा पिएसजीले बार्सिलोनालाई ४–१ ले हराएको छ। च्याम्पियन्स लिग नकआउटमा गएका वर्षदेखिको खराब अवस्था बार्सिलोनाले यसपटक पनि सुधार गर्न सकेन।
खेलको २७औँ मिनेटमा पाएको पेनाल्टीमार्फत् लियोनल मेस्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेटपछि नै एमबाप्पेले बराबरी गोल गरे। ६५औँ र ८५औँ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरे। पिएसजीका लागि चौंथो गोल किनले खेलको ७०औँ मिनेटमा गरे।
पिएसजीसँग च्याम्पियन्स लिगमा यसअघिका भेटमा बलियो देखिएको बार्सिलोना यसपटक भने निरिह देखियो। २०१६–१७ को च्याम्पियन्स लिगमा पहिलो लेग ४–० ले जितेको पिएसजीलाई दोस्रो लेगमा ६–१ ले हराउँदै बार्सिलोनाले सनसनी खेल देखाएको थियो। त्यही अवस्थापछि दुई क्लबबीच यो सिजन अन्तिम १६ को खेलमा मंगलबार राति भेट हुँदैछ।
त्यसअघि २०१४–१५ को च्याम्पियन्स लिग समूह चरणमा पहिलो खेल पिएसजीले ३–२ ले खेल जितेको थियो। अर्को खेलमा बार्सिलोना ३–१ ले विजयी भएको थियो। त्यही सिजन क्वाटरफाइनलमा भएको भेटमा पहिलो लेगमा ३–१ र दोस्रोमा २–० जित्दै समग्रमा ५–१ ले बार्सिलोना विजयी भएको थियो।
२०१२–१३ को च्याम्पियन्स लिग क्वाटरफाइनलमा भेट हुँदा बार्सिलोना अवे गोलका आधारमा अघि बढेको थियो। पहिलो खेल पिएसजीको मैदानमा २–२ को बराबरी खेलेको पहिलो लेगपछि बार्सिलोना मैदानमा १–१ को बराबरी भएको थियो।