September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

विवादास्पद अभिव्यक्ति दिने अधिवक्तालाई पक्राउ नगरे आन्दोलन गर्ने चेतावनी

805

काठमाडौं । नेपाल तामाङ घेदुङले तामाङ, मगर लगायत आदिवासी समुदायका विषयमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्तालाई तत्काल पक्राउ नगरे सडक आन्दोलन गर्ने चेतावनी दिएको छ ।

तामाङ घेदुङको संघीय कार्यालय बौद्ध चुच्चेपार्टीमा पत्रकार सम्मेलन आयोजना गर्दै घेदुङले संविधान र कानुनविपरीत बोल्ने अधिवक्ता शीतल पाण्डेलाई तत्काल पक्राउ गर्न र त्यसो नगरिए आन्दोलन गर्ने चेतावनी दिएको हो । अधिवक्ता पाण्डेविरुद्ध शुक्रबार नै पक्राउ पुर्जी जारी भइसकेको छ । उनीविरुद्ध तामाङ घेदुङको तर्फीबाट प्रहरी परिसर टेकु काठमाडौंमा कार्यवाहक अध्यक्ष कुमारसिंह घिसिङलगायतले जाहेर दिएका थिए ।

जाहेरीपछि पक्राउ पुर्जी जारी गर्न ढिलाइ भएको र पक्राउ पुर्जी जारी भएर पनि तीन दिन बित्दा समेत पाण्डे पक्राउ नपरेपछि घेदुङले आन्दोलनको चेतावनी दिएको हो । अध्यक्ष मोहन गोले तामाङले तामाङ, मगर समुदायले जाहेरी दिइसकेको अवस्थामा पनि सरकारले पक्राउ नगरेको र कतै राज्य नै अपराधी संरक्षणमा लाग्न खोजेको हो कि भन्ने आशंका व्यक्त गरेका थिए ।

Advertisement

‘तामाङ, मगर लगायत आदिवासी समुदायलाई एक जनावर पशुसँग तुलना गरी समस्त समुदायलाई अपराधीकरण गर्ने हेतुले दिएको भ्रामक अभिव्यक्ति हाम्रो स्वतन्त्रता, सम्मानपुर्वक बाँच्न पाउने संवैधानिक हकको प्रतिकूल रहनुका साथै यसले हाम्रो आत्मस्वाभिमानमा गम्भीर ठेस पुगेको हुँदा हामी, कडा शब्दमा यसको घोर भर्त्सना र निन्दा गर्दछौं’, महासचिव काजीमान थिङ तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष गोलेले अधिवक्ता पाण्डेलाई तत्काल पक्राउ नगरिए मगर र तामाङ समुदायले संयुक्त आन्दोलन घोषणा गरिने जानकारी दिए । आन्दोलनबाट उत्पन्न परिस्थितिको जिम्मा सम्बन्धित अधिवक्ता र राज्यले लिनुपर्ने उनको भनाइ थियो ।