बेजिंगस्टोक । बेजिंगस्टोकमा भव्य रुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइएको छ । बेजिंगस्टोकस्थित बेजिंगस्टोक मल्टिकल्चरल फोरमद्धारा आयोजित उक्त कार्यक्रम अध्यक्ष शिवजी श्रेष्ठको अध्यक्षता तथा स्थानीय बेजिंगस्टोक एण्ड डिन काउन्सिलका मेयर पउल मिलरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
२७ देशका ७५ वटा सामाजिक तथा सांस्कृतिक संगठन आबद्ध फोरमले कोभिड महामारी पश्चात पहिलोपटक प्रत्यक्ष रुपमा यस्ता कार्यक्रमको आयोजना गरेको फोरममा सचिव नितिन पाटिलले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर मिलरले संसारका विभिन्न देशहरुबाट आएका आप्रवासीहरुले काउन्सिल, स्थानीय संघसंस्था तथा सामुदायिक संस्थाहरुलाई समेटेर यस्ता कार्यक्रम आयोजना गर्नु सह्रानीय कुरा भएको बताए ।
यस्तै कार्यक्रममा बोल्दै हेड अफ द काउन्सिलर साइमन बाउन्डले यो फोरम बेजिंगस्टोकमा युनाइटेड नेसन्स जस्तो भएको कुरा बताउदै ७५ वटा विभिन्न सामुदायिक संगठनहरुलाई एक ठाउँमा राखेर सामुदायिक कार्य गर्नु प्रसंशाायोग्य कार्य भएको बताए ।
यसै गरी काउन्सिलमा लेबर काउन्सिल लिडर एन्डी माकर्मिकले मातृभाषाको जगेर्ना गर्दै आफ्ना बच्चाहरुलाई सिकाउन सक्नु भनेको आफ्नो भाषाको रक्षा गर्नु हो भन्दै यसलाई निरन्तरता दिन सुझाए । कार्यक्रममा सबैलाई स्वागत गर्दै अध्यक्ष शिवजी श्रेष्ठले संसारभर ७००० भाषा बोलिन्छ, संसारका ८०% डिजिटल सामग्री अंग्रेजीमा भएपनि सपना चाहि मातृभाषामा नै देखिने कुरा बताउदा सहभागीहरु भावुक बनेका थिए ।
ट्रष्टी देवश्रीले संचालन गरेको सो कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले आ–आफ्ना भाषामा विभिन्न प्रस्तुति दिएका थिए । यसैगरी नेपाली कलाकारहरु खुशी राई, दीपा लिम्बुसहित ३ जनाले नेपाली गीतमा नाच प्रस्तुत गरेका थिए भने नेपाली युवा सुशान्त श्रेष्ठले ४ वटा भाषा (अंग्रेजी, नेपाली, हिन्दि र स्पेनिश) मा आफ्नो प्रस्तुतीकरण गरेका थिए । सो कार्यक्रममा बेजिंगस्टोक नेपाली समुदायका अध्यक्ष ओम गुरुङ, बेजिंगस्टोक हिन्दु सोसाइटीका निवर्तमान अध्यक्ष्य किशोर पटेल, अफ्रिकन सोसाइटीका अध्यक्ष नसिमा, अफ्रो क्यारेबियनका पउल ह्यामिल्टन, सिटिजेन एडभाइस ब्युरो प्रमुख ग्राहम, इटालियन कम्युनिटीका इलारिया कोर्नी, फार्नबोरो इन्डियन सोसाइटीका महेशकुमार लगायत विभिन्न देशबाट आइ बेजिंगस्टोकमा वसोवासरत व्यक्तित्वहरुको उपस्थिति थियो ।
२७ देशका सामुदायिक नेताहरु संलग्न सो फोरममा पहिलोपटक नेपाली अर्थात शिवजी श्रेठले नेतृत्व गरिरहेका छन् ।