काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी मंगलबार मनाइँदैछ ।
नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो ।
ग्याल्पो ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक नेपाली समाजका पर्वहरु आपसी सद्भावका लागि महत्वपूर्ण भएको बताइन । शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसारको अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिएकी छन् ।
उपराष्ट्रपति पुनले यस पर्वले शेर्पा समुदायको मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्नुका साथै नेपालीकाबीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गरेर राष्ट्रिय एकतालाई सुदृढ पार्ने विश्वास व्यक्त गरे
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हो भन्दै उनले हिमाल, पहाड, तराई–मधेसको भौगोलिक विविधता र विभिन्न समुदायको भाषा, धर्म, संस्कार, संस्कृति तथा धार्मिक एवं सांस्कृतिक चाडपर्व हाम्रो गौरवका रुपमा रहेका बताए ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् । शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको सरकार आन्तरिक एकता सुदृढ गर्दै अघि बढेको जिकिर गरे ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण विश्वकै एक स्वाधीन र सुन्दर मुलुक रहेको र देशभित्रका सबै भाषा, कला, संस्कृति, सभ्यता र ऐतिहासिकता हाम्रा साझा राष्ट्रिय सम्पत्ति भएको प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशमा उल्लेख छ ।
सभामुख घिमिरेले नेपालका हरेक जातजातिका आ–आफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जातजातिको धर्म, संस्कार र संस्कृतिको सम्मान गर्नु नेपालीको पहिचान भएको बताए ।
यसैगरी, अध्यक्ष तिमिल्सिनाले पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावनालाई प्रवर्द्धन गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताए । सभापति देउवाले यहाँ विभिन्न जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज र चाडपर्व रहेको बताए ।