June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

पालिकाको स्वामीत्वमा इलामको कान्छी पाथीभरा, मन्त्री लिङ्देनले दिए सहयोग गर्ने बचन

5.6K

इलाम(रोङ) । उपप्रधानमन्त्री तथा जलस्रोत सिंचाई तथा उर्जा मन्त्री राजेन्द्र लिङदेनले इलामको कान्छी पाथीभरा मन्दिरको दर्शन गरेका छन् । मन्दिर व्यवस्थापनको स्वामीत्व सोमबार रोङ गाउँपालिकाले लिएपछि पहिलो पटक सोमबार आयोजना गरिएको कार्यक्रममा मन्त्री लिङ्देनले पाथीभराको बिकासमा आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा मन्त्री लिङ्देनले नेपालले माग्ने मात्र काम मात्र गरेकाले आफैं आत्मानिर्भर बन्नुपर्ने बताए ।

उनले अन्य देशका नेता, मन्त्री, कुटनीतिक नियोगका मान्छे आएर जाने बेलामा हामीलाई सहयोग गर्नुहोस भनेर मागेर पठाउनु पर्ने बाध्यता रहेको औंल्याए । राष्ट्रिय प्रजातज्त्र पार्टीका अध्यक्ष समेत रहेका मन्त्री लिङदेनले आफु जति दिन पदमा बसेपनि इमान्दारिताका साथ काम गर्ने बताए ।

सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईले रोङ र सूर्योदय नगरपालिकाको अन्तरसम्बन्धले आम्दानीमा बृद्धि भइ पर्यटनमा टेवा पुग्ने बताए । उनले मन्दिरको आम्दानी पारदर्शी हुनुपर्ने धारणा राखे । रोङ गाउँपालिका अध्यक्ष सुवास स्याङबोले केन्द्र सरकारले पालिकाको विकासमा पर्याप्त सहयोग आउनेमा विश्वास ब्यक्त गरे । उनले हर्कटे, कुटीडाँडा, हाँसपोखरीलाई एकीकृत नमूना बस्ती निर्माणका लागि मन्त्री लिङ्देनबाट सहयोग प्राप्त हुने आशा व्यक्त गरे ।

Advertisement

कार्यक्रममा अध्यक्ष स्याङबोले एक संस्थाको मातहतमा रहेको मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी गाउँपालिकाको स्वामीत्वमा ल्याउन सकेकोमा खुशी व्यक्त गरे । गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ तयार गरी गाउँ सभाबाट माघ ११ गते पारित गरेको जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ अनुसार कार्यविधि बनाई जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्नेगरी सो मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याइएको उनले जानकारी दिए ।

पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ को दफा ४ अनुसार दिलीप राईको अध्यक्षतामा स्थानीयवासी, माला व्यवसायी, गैरसरकारी संस्था, चन्दा दाता, शिक्षक र प्रत्येक वडाबाट १ जनागरी १९ सदस्यीय समिति समेत निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिइएको उनले जानकारी दिए ।