April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

विश्वभर भ्यालेन्टाइन डे मनाइँदै, ‘रानीमहल’मा विशेष कार्यक्रम

945

काठमाडौं । आज १४ फेब्रुअरी भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस विश्वभर एक आपसमा प्रेम साटासाट गरी मनाइदै छ । क्याथोलिक र रोमन समुदायका नागरिकले आजको दिनलाई भ्यालेन्टाइन डे को रुपमा विशेष रुपमा मनाउने गरेका छन् ।

तर बढ्दो सूचना र प्रविधिको विकाससँगै प्रणय दिवस विश्वभरमा नै मनाउन थालिएको छ । नेपालमा पनि पछिल्ला केही वर्षदेखि विशेष गरी युवा युवती माझ प्रणय दिवस मनाउने चलन बढ्दो छ ।

दिवसका अवसरमा देशका पर्यटकीय ठाँउहरुमा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गर्ने गरिएको छ । भ्यालेन्टाइन डे को औपचारिक शुरुवात सन् २६९ तिर रोमनबाट भएको मानिन्छ ।

Advertisement

सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रणय दिवसका रुपमा भ्यालेन्टाइन डे मनाउने चलन छ ।

यसै अवसरमा पाल्पाको तानसेन नगरपालिकाले ‘रानीमहल’मा विशेष कार्यक्रम गर्दै छ । प्रेम दिवसको अवसरमा प्रेमको प्रतीक रानीमहल पुग्ने २५ जोडीलाई तानसेन नगरपालिकाले सम्मानसहित गुलाबको फुल, खाजा, खाना तथा बासको व्यवस्थापन गरेको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताए ।

नगरपालिकाले तानसेन नगर पर्यटन विकास उपसमिति मार्फत् युगल जोडीहरूको भव्य स्वागतको तयारी गरेको छ । तानसेन नगरपालिकाको स्वामित्वमा रहेको रानी महललाई प्रेमको प्रतीकको रुपमा लिने गरिन्छ । तत्कालीन जनरल खड्ग शमशेरले आफ्नी प्यारी रानी तेजकुमारीको निधनपछि भावबिहोल भई रानीको सम्झनामा वि.सं १९५० मा रानी महलको शिलान्यास गरि चार वर्षमा रानी महलको निमार्ण सम्पन्न गराएका थिए । राजा र रानीको प्रेमको प्रतिको रुपमा निमार्ण गरिएको रानी महललाई अहिले पनि प्रेमको स्वरूपमा हेरिने गरिन्छ ।