July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

राष्ट्रवादको व्याख्या समय सापेक्षित हुनुपर्नेमा युवाहरुको जोड

5.3K

ललितपुर । राष्ट्रवादको व्याख्या समय सापेक्षित हुनुपर्नेमा युवाहरुले धारणा राखेका छन् । कांग्रेस नेता एवम लेखक लाओस राईद्वारा लिखित प्रकाशोन्मुख पुस्तक ‘राष्ट्रपवाद कि राष्ट्रप्रेम ?’को सान्दर्भिकताबारे छलफल गर्दै युवाहरुले उक्त धारणा राखेका हुन् ।

ललितपुरको दलचोकीमा दल्चोकी युवा सचेतना केन्द्रले आयोजना गरेको छलफलमा अधिवक्ता नारायण पौडेलले राष्ट्रवादको परिभाषालाई बदलिंदो परिस्थिती अनुसार व्याख्या गरिनुपर्ने धारणा राखे । नेपाली कांग्रेसका युवा नेता सानुबाबु महर्जनले राष्ट्रवाद र राष्ट्रप्रेमका विषयमा युवाहरु चिन्तित बन्नुपर्ने बताउँदै यस्तो संवेदनशिल विषयलाई राष्ट्रव्यापी जागरण अभियानका रुपमा संचालन गर्नुपर्ने बताए ।

डाक्टर दीपेन्द्र सिजापतीले राष्ट्रवाद र राष्ट्रप्रेम एक अर्कामा सम्बन्धित भएपनि राष्ट्रवादको परिभाषा समय र परिस्थिति अनुसार बदलिंदै गएका बताए । नेपाली कांग्रेसका महासमिति सदस्य राम बहादुर थापाले राष्ट्रवादका विषयमा देशभर अभियान संचालन गरिनुपर्ने सुझाव दिए ।

Advertisement

दल्चोकी युवा सचेतता केन्द्रका अध्यक्ष बिक्रम लामाले युवाहरुमा राष्ट्रप्रेमको भाव जागृत गराउन राज्यको प्रमुख भूमिका रहने बताउँदै युवाहरुमा राष्ट्रप्रति जिम्मेवार बनाउन सबैले भूमिका खेल्नुपर्ने औंल्याए । लेक्चर ध्रुव गैरेले राष्ट्रवाद र राष्ट्रप्रेमका विषयमा राजनीतिक दलका नेताहरुमा फरक फरक धारणा रहेकाले समय अनुसारको परिभाषा गरिनुपर्ने बताए ।

पुस्तकका लेखक एवम कांग्रेस नेता लाओस राईले पुस्तक प्रकाशनपूर्व आफूले सबै तह तप्काका व्यक्तिहरुसँग सुझाव संकलन गरिरहेको जानकारी दिंदै पुस्तक प्रकाशन भएपश्चात राष्ट्रवादका विषयमा राष्ट्रब्यापी जागरण अभियान संचालन गर्ने बताए । छलफलमा कोन्ज्योसोम गाउँपालिकाका उपप्रमुख राजन घिमिरे, नेता नवीन राईलगायतको उपस्थिति थियो ।