July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

अमेरिकाबाट ४० करोड रुपैयाँ शंकास्पद रकम भित्र्याएको आरोपमा ६ जना पक्राउ

1.3K

काठमाडौं । विभिन्न मुलुकबाट शंकास्पद रकम भित्र्याएको आरोप लागेका व्यवसायी पृथ्वीबहादुर शाहसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शाह, उनका भाइ विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्माङ्गत काफ्ले र रंगबहादुर साउद पक्राउ रहेका छन् ।

केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी)बाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको एआईजी उत्तमराज सुवेदीले पुष्टि गरे । सीआईबीका प्रवक्ता कमल थापाले ठगीसम्बन्धी कसुर मुद्दामा उनीहरुलई पक्राउ गरिएको बताए । उनका अनुसार उनीविरुद्ध अनुसन्धानका लागि शुक्रबार दिउँसो जिल्ला अदालत, काठमाडौंबाट म्याद लिइएको छ।

शाहको नाममा विदेशबाट आएको करोडौँ रकम राष्ट्र बैंकले रोक्का राखेको छ। अछामका युवा व्यवसायी शाहका नाममा अमेरिकाबाट शंकास्पद रकम आएका कारण अनुसन्धानमा तानिएका थिए। शाहले व्यापार, रेमिट्यान्स र लगानीसँग सम्बन्धित आधा दर्जन कम्पनी स्थापना गरी अमेरिकाबाट नेपालमा रकम भित्र्याउन खोजेको आरोप छ।

Advertisement

अमेरिकाबाट शाहले नेपाल भित्र्याउन खोजेको ४० करोड रुपैयाँ शंकास्पद भएको भन्दै फिर्ता पठाउन अमेरिकी फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्कले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । शाहले दर्ता गरेका कम्पनीहरू व्यवसायिक प्रयोजनका लागि भन्दा पनि आर्थिक चलखेल गर्नका खडा गरिएको अनुसन्धानले देखाएको थियो ।