July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

‘अमेरिकी डलरको खेलौना नोट’ बोकेर हिँड्दा भारतीय फोटोपत्रकारलाई जेल सजाय

1.4K

काठमाडौं । ‘अमेरिकी डलरको खेलौना नोट’ बोकेर हिड्दा २४ वर्षीय भारतीय फोटोपत्रकार दुर्लभरोय चौधरीले एक वर्ष कैद सजाय भोग्नुपरेको छ । चौधरीले नेपाल प्रहरीले एक वर्ष कैद सजाय दिएर आफूमाथि अन्याय भएको भन्दै न्यायको लागि उच्च अदालत इलाममा मुद्दा दायर गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर चौधरीले प्रहरी र सरकारी वकिलबाट नक्कली अमेरिकी डलरको उत्पादन तथा प्रयोग गर्ने प्रयास गरेको आफूमाथि आरोप लगाएको सुनाए । नेपालका मिडिया र राष्ट्रिय फोटो पत्रकार समुहले महत्वका साथ चासो दिएपछि आफ्नो मुद्धा फास्ट ट्रयाकबाट सुुनुवाई भएको पनि उनले बताए । प्रहरी र सरकारी वकिलबाट ‘नक्कली अमेरिकी डलरको उत्पादन तथा प्रयोग गर्ने प्रयास’ भनेर आफूमाथि ५ वर्षदेखि १० वर्षसम्मको कैद सजायको मागदाबी लिइएको समेत उनले बताए ।

उनले झापा जिल्ला अदालतले उक्त सरकारी अभियोगपत्रको मागदाबी अस्वीकार गर्दै नक्कली वा खेलौना नोट बोकेर हिँड्नुपनि अपराध रहेको भन्दै आफूलाई १ वर्ष कैद सजाय र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको सुनाए । सो फैसलाको चित्त नबुझेकोले आफू उच्च अदालत इलाममा अभियोगको सफाईको माग गर्दै पुनरावेदन लिएर गएको स्पष्ट पारे । उनले आफू यही मंसिर २ गते १ वर्षको कैद सजाय काटेर रिहा भएपछि काठमाडौं आएको बताए ।

Advertisement

चौधरीले सुस्त गतिमा सुनुवाइ भइरहेको आफ्नो मुद्दा नेपाली सञ्चारमाध्यममा समाचार आएपछि तीब्रगतिमा सुनुवाई भएको र समाचार आएको करिब १ महिनापछि फैसला आएको बताए । ‘कानुनको सामान्य अज्ञानता र नेपाली सरकारी कर्मचारी तथा सीमामा कार्यरत कर्मचारीकै कमजोरीका कारण मैले एक वर्षको कैद सजाय भोग्नुपयो । यदि उनीहरुले मलाई यस्तो खेलौना नोट बोकेर हिँड्न पनि अनुमति लिनुपर्छ भनिदिएको भए म ती खेलौना नोटको अनुमति लिन्थे तर उनीहरुले केही नभनिदिएको कारण मैले धेरै दुख पाएँ । प्रहरीले गलत कागजमा मलाई रिहाईका लागि हो भन्दै हस्ताक्षर गर्न लगाएर अपराध कबुल गर्न लगाएको रहेछ, त्यसकारण पनि मैले दुख पाएँ । यद्यपी नेपाली सञ्चारमाध्यमले गरेको सहयोगप्रति म धेरै आभारी छु । अहिले मेरो मुद्दा उच्च अदालतमा विचाराधीन अवस्थामा रहेको कारण त्यस सम्बन्धमा मैले धेरै बोल्न मिल्दैन, यद्यपि मैले आफ्नो सफाईको मौका अदालतमा मात्रै होइन, मिडियामा पनि बोल्न पाइन्छ भनेर यति भनिरहेको छु ।’–उनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनले लेखेका छन्,‘म अहिले जेलबाट छुटेर काठमाडौंमा छु र चाँडैनै म मेरो देश फर्कदैँछु । २४ वर्षको उमेरमा ममाथि जुन अभियोग लाग्यो र फैसला आयो त्यसबाट म दुःखी छु र उच्च अदालतबाट सफाई नपाए म सर्वोच्च अदालतसम्म आएर ममाथि लागेको दाग हटाउन लड्नेनै छु ।’

उनले नेपालको प्राकृतिक सुन्दरताको फोटोग्राफी गर्न पुनः नेपाल आउनेसमेत बताएका छन् । नेपाल, नेपाली जनता, यहाँको प्राकृतिक सुन्दरतालाई सँधै माया गर्ने र नेपालको पर्यटन विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धतासमेत जाहेर गरे ।

नेपालको प्राकृतिक सुन्दरताको प्रचार गर्न फेरि नेपाल आउने र फोटो प्रदर्शनी गर्ने पनि उनले योजना बनाएको बताए । उनले आफूले अदालतबाट पूर्ण सफाई पाएपछि नेपालीहरुसँग भेट्न आउने वाचा गरेका छन् ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले चौधरी नक्कली नोटको कारोवारी नभएको दाबी गरे । उनले भने,‘उहाँले चाहेर होइन, जानेर नभई अञ्जानमा गल्ती गरेको हो र यस्तो गल्तीको सजाय पाउनुहुन्न, र उहाँले सफाई पाउनुपर्छ भनेर संस्थागत निर्णय गरेर विज्ञप्ती निकालेका हौं ।’

उनले चौधरी जेलमा रहेको न्यूजपोर्टल रातोपाटीमा आएपछि वास्तविकता बुझ्न आफू झापा पुगेको स्मरण गराए । चौधरीको रिहाइको लागि आफ्नो संस्थाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा दुईपटक प्रेस विज्ञप्ती जारी गरेको उनले स्पष्ट पारे ।