August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

आत्मविश्वास र साहसकै कारण बालबच्चाहरूका आमा बन्न सफल छु: समाजसेवी इन्दिरा राना

1.2K

अमेरिका । समाजसेवी तथा प्रिजनर्स एसिस्टेन्ट नेपालका अध्यक्ष इन्दिरा राना मगरले आफूमा भएको आत्मविश्वास, साहस र दृढ इच्छाशक्तिकै कारण बालबच्चाहरूका आमा बन्न पुगेको बताइन् । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले आयोजनाको गरेको एक भेटधाट कार्यक्रममा सहभागिहरूको जिज्ञासाको जवाव दिँदै उनले विभिन्न चुनौती पार गर्दै भोलिका कर्णधार बालबच्चाहरूका आमा बन्न पुगेको बताएकी हुन् ।

अमेरिकाको भ्रमणमा रहेकी रानाले आफू महिला भएको कारणले नै बाल्यपनदेखि विभिन्न प्रकारका बिभेदमा परेको, नेपालमा आमाको नाममा नागरिकता दिने भन्ने कानुन बनेपनि व्यवहारमा लागु नभएकाले कतिपय उनका बालबच्चाले नै नागरिकता अहिलेसम्म नपाएका गुनासाहरु समेत राखिन् ।

रानाले बिगत तीन दशकभन्दा लामो समयदेखि विभिन्न कारण जेल चलान भएका हजारौ बालबच्चाहरूको आमा बनेर उनीहरूको सुन्दर भविश्यका लागि एक असल आमाको भूमिका निर्वाह गर्दै आएकी छिन् । उनले विगत दुई बर्ष कोभिड महामारीका कारण प्रताडित बनेका सडकका बालबालिकालाई प्रत्येकदिन एक हजारका दरले खाना खुवाएकी थिइन् ।

Advertisement

कार्यक्रममा रानाले साहित्यकार पारिजातबाट प्रभावित भइ बाबुआमाबिहिन बेसहारा बालबालिकालाई साहारा दिएकै कारण आफ्नो श्रीमानसँगको वैवाहिक सम्बन्ध अन्त्य भएको तितो यथार्थ पनि बाडिन् । उनका अनुसार पारिजातसँग बाहिर हिड्ने क्रममै जेलमा रहेका व्यक्तिहरूको दर्दनाक स्थिति देख्न नसकेर उनीहरूलाई नुहाइदिने, नङ काटिदिने जस्ता सहयोग गर्न थालिन् । त्यही समयदेखि जेलमा रहेको बालबालिकालाई ल्याएर स्याहारसुसार गर्न थालेकी हुन् । अहिले उनी १२ बालगृह, दुई स्कुल र चार डेकेयर संचालन गरिरहेकी छन् । उनी विभिन्न राष्ट्र तथा अन्तराष्ट्रिय पुरस्कारबाट पनि पुरस्कृत भएकी छन् ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा आयोजित कार्यक्रमका सहभागिहरुसँग समाजसेवी इन्दिरा राना ।

‘चिताए म पुर्याउछु’ भन्ने आहान जस्तै आफ्नो काममा विभिन्न दाताहरूको सहयोग प्राप्त भएको बताउने रानानगर नेपालको शासन सत्ताबाट भने सन्तुष्ट छैनन् । उनको विचारमा जति पनि बजेट आउछन् सबै धनि वर्ग र राजनीतिक पार्टीका आसेपासेको लागि निर्माण क्षेत्रमा मात्र फोकस भएको बताउछिन् । सामाजिक सुरक्षाको व्यवस्था नहुँदा सामान्य जनमानसको जनजीवन थप चुनौतिपूर्ण भएको उनको धारणा छ । माया, ममता र एकअर्काको सम्मानबाट मात्र लिडरसिप सम्भव हनेमा उनी विस्वास गर्छिन् ।

यस्तै, कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता बिष्णुमाया परियारले रानामगरको बालगृहका बालबालिकालाई भेटेर महसुस गरेको हृदयबिदारक अनुभव सुनाइन् ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिकाकी उपाध्यक्ष इन्दिरा चोङबाङ, जिरेल समाज अमेरिकाकी अध्यक्ष तथा पूर्व सभासद शान्ति जिरेल, तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष छेमाङ तामाङ, सामाजिक अभियन्ता केशवराम राई, थारू एण्ड फ्रेण्ड्स सोसाइटिका दिपक चौधरी लगायतको उपस्थिति रहेको थियो । उपस्थित व्यक्तिहरूले रानामगरको सामाजिक अभियानलाई उच्च सम्मान गर्दै जिज्ञासाहरू राखेका थिए ।

फिप्नाकी महासचिव टोमा लामाले संचालन गरेको उक्त कार्यक्रममा संस्थाका सभामुख सुवर्ण शाक्यले आगामी दिनमा रानामगरसँग सहकार्य गर्ने प्रतिवद्धता जाहेर गरे भने फिप्नाको अध्यक्ष तथा कार्यक्रमका सभापति राजकुमार बिष्टले बिगतमा गरेका सहकार्यको उच्च मुल्यांकन गर्दै सम्पूर्ण संघ संस्था तथा फिप्नाले पनि कुनै व्यक्ति या संस्थालाई सहयोग गर्दा सहि संघसस्था या रानामगर जस्तै सामाजिक हिरोहरूलाई साथ दिनुपर्नेमा जोड दिँदै आगामी दिनहरूममा पनि सहकार्य गर्ने प्रतिवद्वता व्यक्त व्यक्त गरे ।