काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
‘राते काइला’ नामले परिचित थापा लामो समयदेखि नेपाली, भोजपुरी र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।
सन् १९७४ मा मुम्बईबाट मोडलिङ यात्रा सुरु गरेका थापाले ‘पापी मान्छे’, ‘गोर्खा पल्टन’, ‘आफ्नो मान्छे आफ्नै हुन्छ’,’शिकारी’, ‘देवर बाबु’, ‘अल्झेछ क्यारे पछ्यौरी’ लगायत सयौं नेपाली चलचित्रमा काम गरेका छन् ।
यस्तै, ‘मेरी कोम’, ‘नासिबवाला’, ‘अल्बेला’, ‘मुन द ग्रे’, ‘आजकी आवाज’,’मानव हत्या’, एक दुजे के लिए’ जस्ता फिल्ममा अभिनय गरेका छन् । प्राइम एमाजोनमा अत्यधिक रुचाइएको वेब सिरिज ‘फेमिली म्यान’ मा पनि थापाको अभिनय छ ।
सन् २०१४ मा बलिवुड चलचित्र ‘मेरी कोम’बाट थापा फिल्मफेयर अवार्डमा सर्वश्रेष्ठ सहायक अभिनेताको लागि मनोनीत भएका थिए ।
थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।
६८ बर्षको उमेरमा निधन भएका थापाको परिवारमा श्रीमती रजनी लिम्बु र दुई सन्तान छन् । गीतकार युवराज काफ्लेका अनुसार थापाका परिवार मुम्बईमा बसोवास गर्छन्।