May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

रहेनन् वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्य, आजै पशुपतिमा अन्त्येष्टि गरिने

525

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको  निधन भएको छ । ७७ वर्षीय वैद्यको बिहीबार राति साढे १२ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको र राति अझ चापेपछि अस्पताल लाने क्रममै उनको निधन भएको परिवारले जनाएको छ ।

वैद्यलाई भर्खरै मात्रै उनलाई गंकी बसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्रदान गरिएको थियो । त्यस कार्यक्रममा भने उनी आफैं उपस्थिति हुन सकेका थिएनन् । तर भिडियो सन्देश भने दिएका थिए ।

Advertisement

नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार वैद्यका नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् । यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन् ।

वनस्पतिशास्त्रमा एमएस्सी गरेका वैद्य लोकसेवा आयोग दिएर प्रथम भएका थिए । करिब ३३ वर्ष सरकारी जागिर खाएका योगेश ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए । उनले बेल्जियमको गेन्टको स्टेट युनिभर्सिटीबाट पनि फुड एन्ड न्युट्रेसनमा स्नातकोत्तर गरेका थिए ।

शुक्रबार पशुपतिमा उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उनका दुई छोरी र एक छोरा छन् ।