काठमाडौं । लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ । मोडल तथा कलाकार सागर लम्साल (बले) का बुवा राजेन्द्र १२ वर्षदेखि स्पेनमा बस्दै आएका थिए ।
६० वर्षीय गायक लम्सालको सोमबार राति निधन भएको परिवार श्रोतले जनाएको छ । पहिल्यैदेखि बिरामी रहेका लम्साललाई पछिल्लो समय पिसाबसम्बन्धी समस्या देखिएको थियो ।
दर्जनौं लोकप्रिय गीत गाएका लम्सालको
‘जापान टोकियो’ गीत सर्वाधिक चर्चित बनेको थियो । यस्तै, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मर्स्याङ्दीको पुल’, ’आमा तिम्रो दूधको भारा’, ‘राइनासकोटको भीर’, ‘निलो पछ्यौरी’ लगायत गीत उनका लोकप्रिय छन् ।
लम्सालका सागरसहित ३ छोरा र १ छोरी छन् ।
उनको पार्थिव शरीरलाई स्पेनबाट नेपाल ल्याइने भएको छ ।