काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्राध्यापक डा. मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । श्रेष्ठको उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।
श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिएका थिए । ८८ वर्षको उमेरमा आज बिहान निधन भएको परिवार स्रोतले जनाएको छ ।
चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका वामपन्थी बुद्धिजीवी श्रेष्ठ विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री बनेका थिए ।
उनका ६ छोरा र एक छोरी छन् । उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।