February 5, 2023, Sunday
२०७९ माघ २३
1:37:26 pm

अन्तर्वार्ताः लिम्बुहरुलाई एक बनाउने आधार ‘मुन्धुम’ हो-प्रेम येक्तेन

2.2K

‘एक बागी’ प्रसंगः पुरै किताबमा त धेरै प्रसंगहरू लिम्बु समुदायकै पक्षमा छ, तर त्यो लाइनलाई मात्रै किन समाइयो ?-लेखक

याक्थुङ/लिम्बुहरुको अभिभावक संगठन हो किरात याक्थुङ चुम्लुङ । याक्थुङहरुको मुद्दा र हकहितका लागि लड्ने संस्था भएतापनि कहिलेकाहीँ कियाचु विवादमा पर्ने गर्छ । विशेषगरी धार्मिक चेपुवामा पर्दै आइरहेको कियाचुले पछिल्लो समय सिरिजङ्गा लिपिबारे निकै आलोचना खेप्नु परेको थियो । भर्खरै लेखक खगेन्द्र सङ्ग्रौलाको जीवनीमा आधारित पुस्तक ‘एक बागी’ चर्चाको बाबजुद निकै विवादित बन्यो । उक्त पुस्तकमा याक्थुङहरुले ‘सिनो’ खाएको प्रसंगलाई लिएर विभिन्न व्यक्ति, बुद्धिजीवि बर्ग तथा लिम्बु संघसंस्थाहरुले विरोध गर्नेदेखि विज्ञप्ति निकाल्ने कार्य गरे । यसबारे धेरैले कियाचुको ‘एक्सन’ पर्खिरहेका थिए । हाल कियाचुको नेतृत्व सम्हालिरहेका छन् गोल्डमेडालिष्ट तथा लिम्बू विद्यार्थी मञ्चका पूर्व अध्यक्षसमेत रहेका प्रेम येक्तेन यी विविध विषयवस्तुबारे कियाचुका अध्यक्ष येक्तेनसँग नेपाल मामिलाको लागि सीता तुम्खेवाले गरेको वार्तालाप यहाँ प्रस्तुत गरिएको छः

कियाचुको नेतृत्व गरिरहनुभएको छ, लिम्बुहरूको मुद्दामाथी के कति काम गरिरहनुभएको छ ?
अहिले लिम्बुहरूको मुल एजेन्डाहरूलाई अग्रभागमा राखेर काम अघि बढाएका छौं । ११औं महाधिवेशन पछाडि हामी निर्वाचित हुँदैगर्दा घोषणापत्रको प्रतिबद्धतामा हामी प्रतिबद्ध छौं । हाम्रो समुदायमा एकप्रकारको झन्डै फाटो जस्तै थियो । तिनीहरूलाई सच्याउदै एकीकृत भएर अगाडि बढ्नका लागि काम गर्नुपर्छ भन्ने महाधिवेशनमै तय गरेर आएका थियौं । किरात याक्थुङ चुम्लुङ स्थापना हुँदा त्यतिबेलाको समय सन्दर्भ अनुसार लिम्बु भनेर जुन ‘आइडेन्टिटी’ अगाडि सारिएको थियो, त्यसका विभिन्न आधारहरू छन् । त्यसलाई अहिलेको समुदायमा उठेको समसामयिक सन्दर्भ र वहस अनुसार लिम्बु सँगसँगै याक्थुङलाई समानन्तर रुपमा स्थापित गरेर लाने कानुनी रुपमा पनि हैसियत प्राप्त गर्नेगरी लानुपर्छ भन्ने महाधिवेशनमा पारित गरेका थियौं, जसलाई हामीले अहिले विभिन्न निकाय र अभ्यासबाट स्थापित गरिरहेका छौं । संशोधनको लागि पनि पहलमा छौं । विशेष गरेर लिम्बु/याक्थुङ दुवैको अर्थ एउटै हो भन्नेगरी सूचीकरण गर्नका लागि आदिवासी जनजाति प्रतिस्ठान ऐन अन्तर्गत हामीले यसलाई संशोधन गर्नुपर्छ र यी विषयहरु तथ्यांक विभागले दिने रिपोर्टहरूमा प्रदेश सरकारसँग गरेका कामहरू, संघीय सरकारहरूसँग गरेको अहिलेको डकुमेन्टेशनहरूलाई कानुनी प्रक्रियामा लगेर दुवै ‘टर्म’हरूलाई बराबरी लैजाने एउटा काम भयो । त्यसपछि लिम्बुहरूको लामो इतिहासमा राज्य पक्षबाट र राजनीतिक विभेद, दबाउने, अतिक्रमण गर्ने या अप्रभंशित गर्ने कुराहरू थिए, तिनीहरूलाई केन्द्रमा राखेर ‘लिबराइट’ गरेर तिब्र गतिमा काम गर्दैछौं । तत्कालै चलिरहेको मुकुम्लुङ आन्दोलन छ, यसलाई पाथीभराको रुपमा सरकारले स्थापित गर्न चाह्यो त्यसलाई हामीलाई बिस्थापित गरेर मुकुम्लुङ स्थापित गर्नका लागि निकै चरणमा सफल भइसकेका छौं । र, अहिले पनि पाथीभराकै नाममा केवलकारहरू निर्माण गर्ने काम जबरजस्ती बढाउन खोजेको छ, तिनीहरूलाई रोक्नको लागि मुकुम्लुङकै रुपमा संरक्षित कायम गर्नु एउटा काम भयो । त्यसैगरी थुप्रै नामहरू पुनस्थापित गर्ने कामहरू भए । मुख्य त याक्थुङहरूको भाषालाई प्रदेश नम्बर १ मा सरकारी कामकाजको रुपमा स्थापित गर्न सरकारलाई आवश्यक सहयोग ग¥यौं । अहिले विधेयकको रुपमा मस्यौदा बनिसकेको छ । त्यो मस्यौदा प्रदेश सरकारले पास गरिसकेपछि अनुमोदन गरेर प्रदेश संसदमा गएपछि कार्यन्वयनमा जान्छ । त्यसैगरी पाठ्यक्रम र पठनपाठनको बिषयमा पनि यसअघि कक्षा –८ सम्म बनाइसकेको छ । अब ९–१२ सम्मको लागि सरकारसँग समन्वय गरिरहेका छौं । तत्कालै काम सुरु हुँदैछ । त्यसपछि त्यसलाई विश्वविद्यालयसम्म अगाडि बढाउने गरि काम गरिरहेका छौं ।

प्रदेश १ को नामाकरणको सवालमा किरात समन्वय समिति किन मौन बस्यो ? भन्ने एउटा प्रश्न छ नि ?
प्रदेश नामाकरणको विषय पनि प्रधान विषय हो । प्रदेश नम्बर–१ लाई लिम्बुवान किरात नामाकरण हुनुपर्छ भनेर प्रभावकारी र सशक्त आन्दोलन चलेको थियो, त्यो सबैलाई थाहा छ । त्यसमा किरात समन्वय समिति किन मौन बस्यो ? भन्ने प्रश्न गर्नुभयो, खासमा मौन बसेको भने हैन । लिम्बुवान किरात हुनुपर्छ भन्नेमा आन्तरिक समन्वय गर्नुपथ्र्यो त्यो गरिएकै छ । आन्दोलनमै किन निस्कएनौं भन्ने कुरा होला ! त्यसमा चाहिँ समन्वय समितिका आफ्नै ‘क्राइट एरिया’हरू छन् । नामाकरणको विषय ‘पोलिटिकल एजेन्डा’ भयो भन्ने हिसाबले पनि यसअघि त्यति राम्रो गृहकार्य भएको थिएन होला भन्ने लाग्छ । हामी आएपछि त्यसमा प्रयास गर्‍यौं । छोटो अवधिमा त्यो आन्दोलन गर्नुपर्‍यो । त्यसको असर थोरै परेको हुन सक्ला । तर हामीले लिम्बुवान संयुक्त अन्तर संघर्ष समिति अन्तर्गत चाहिँ इतिहासलाई हेर्दा पनि किरात समन्वय समितिभित्रका संस्थाहरू आवद्ध हुनुहुन्छ, जस्तैः सुनुवार सेवा समाज, याखा चुम्मा लगायतका थुप्रै संस्थाहरू पहिलादेखि त्यो आन्दोलनमा हुनुहुन्छ । अहिले तत्काल त्यसमा झ्वाट्ट नदेखिएला तर त्यसको इतिहास हेर्न सकिन्छ । पछिल्लो समय हामीले बृहत् रुपमा जब १४ वटा जिल्लाको भूगोल बनेपछि ९ जिल्लाको भूगोलले समेट्ने गरि लिम्बुवान आन्दोलन हो र, हाम्रो प्रमुख एजेन्डा चाहिँ लिम्बुवान नै हो । जब १४ भैसकेपछी हामीले अरुको इतिहासलाई पनि स्वीकार गर्न सक्नुपर्छ भन्ने हिसाबले किरातको हिसाबले उठेको खम्बुवान क्षेत्रको आन्दोलनलाई जोड्दै लानको लागि लिम्बुवान किरात बनायौं । र, यसमा हामीले किरातको लागि लडिराख्नुभएका साथीहरूसँग पनि थुप्रै समन्वय गर्‍यौं । प्रयास पनि गर्‍यौं । छोटो आन्दोलन भएकोले त्यो जोडिन सकेन । हामीले चाहिँ जोड दिएका छौं । हामी आफैले धेरै कुरालाई ‘कनेक्ट’ गरेका छौं । मलाई लाग्यो यो एकदिन जोडिन्छ । यो जोडिन आवश्यक पनि छ ।

Advertisement

सिरीजङ्गा लिपिलाई किरात लिपि बनायो भन्ने कियाचुलाई अर्को आरोप पनि लागेको छ नि ?
यो त प्रष्ट छ । किरात लिपि हैन, किरात सिरीजङ्गा लिपि भनेर कियाचुले डकुमेन्टेशन गरेको हो । र, अहिलेसम्म हमीले अफिसियल्ली भन्ने बोल्ने किरात सिरीजङ्गा लिपि नै हो । त्यसमा चाहिँ जुन आरोप छ त्यो कुन हिसाबले आरोप लाउनुभयो, त्यो वहाँहरूको कुरा होला ! तर हामीले यसलाई किरात सिरीजङ्गा लिपि भनेर भनेका छौं । यसमा किन किरात सिरीजङ्गा लिपि बनायो भन्ने कुरा होला ! यसमा दुईवटा कुराको ऐतिहासिक पक्षहरूलाई जोड्न खोजेको हो । एउटा, जो सिरीजङ्गाले योगदान दिनुभएको छ, तुलनात्मक रुपमा हेर्दा वहाँप्रतिको सम्मान र वहाँलाई हामीले मान्ने र कियाचुले जति सिरीजङ्गाको बिषयमा सम्मान गर्ने या वहाँको लागि विभिन्न कुराहरू स्थापित गर्ने अरु संस्था र व्यक्ति अलि कमै छन् होला जस्तो लाग्छ मलाई । किरात लिपि भन्ने त प्रमाणित नहुने आरोप मात्रै हो । तथ्यले पनि देखाउदैन । र, किरात सिरिजङ्गा लिपिको नाम राख्दा सिरिजङ्गाको सम्मानको कुरा गरिहाले त्यसपछि यो लिपिको ब्यापकतालाई हामीले सम्पूर्ण किरात समुदायमा पुर्‍याउन सकियो भने यसले सिरिजङ्गाकै ईतिहास, र योगदान बृहत भएर जाने हो । धेरै ठाउँमा पुग्ने हो । सिरिजङ्गा लिपि लिम्बुको मात्रै हो, अरुलाई किन दिइयो भन्ने पनि छ । लिपि भन्ने चिज एउटा व्यक्तिको पेवा भनेर राख्नु साह्रै उपयुुक्त हुन्न । त्यसैले यो लिम्बु बाहेक अरु समुदायले पनि चलाउनुलाई चाहिँ महत्वपूर्ण उपलब्धिको रुपमा लिनुपर्छ । र, त्यसरी लिने क्रममा हामीले यो लिम्बु बाहेक अरु समुदाय राई, याखा, सुनारले चलाउने मात्रै नभई अंग्रेजी बोल्नेहरूले पनि चलाए त झनै राम्रो नि ! कियाचुको आधिकारिक कुरा किरात सिरिजङ्गा लिपि हो ।

अर्को प्रसंगमा जाउः लेखक खगेन्द्र संग्रौलाको जीवनी पुस्तक ‘एक बागी’मा लिम्बुले सिनो खाएको प्रसंग उल्लेख गरिएको छ । जसको सर्वाधिक बिरोध पनि भयो । यसबारे कियाचु परिवार र प्रकाशक, लेखक तथा संग्रौलासँग बसेर छलफल गरेको थियो। छलफलमा केके कुरा भए ? बताइदिनोस् न !
कियाचु लिम्बुहरूको साझा संस्था भएको हुँदा लिम्बुसँग जोडिएर आएका गम्भीर सरोकारहरूमा बेवास्ता गर्न र बेखबर भएर बस्न मिल्दैन । सामाजिक संजालहरूमा यसबारे यत्रतत्र रुपमा आउन थालेपछि यसबारे पहल गर्नुपर्छ भन्ने हिसाबले लेखक उज्वल प्रसाईं, बिषयबस्तुका स्रोत खगेन्द्र संग्रौला, र प्रकाशक संगीतसँंग बसेर कुरा ग¥यौं । बसाईमा हामीले हाम्रो समुदायसँग उठेका ‘कर्नसन’का कुराहरू राख्यौं । वहाँहरूबाट पनि आआफ्नो कुरा राख्ने काम भयो । त्यो बसाईले निर्माण गरेको प्रगतिको रुपमा चाहिँ खगेन्द्र संग्रौलाजीले आफ्नो स्पष्टीकरणको रुपमा यथार्थ के हो भनेर सिलापत्रमा लेखिसक्नुभएको छ । त्यसमा खास कुरा लेखकको दाबी चाहिँ मुख्य स्रोत खगेन्द्र संग्रौलाले लेख्नुभएको विभिन्न कृतिहरू जो नवयुगमा प्रकाशित थिए, त्यसको आधारमा लेखिएको कुरा गर्नुभएको थियो । त्यसमा हामीले तुलना गर्न पायौं । लेखकले अलिकति सरलीकृत गर्दा कमजोरी भएको पाइन्छ । त्यसमा सिनो भन्ने शब्दलाई जसरी प्रयोग गरिएको छ, त्यो मिस्टेक हो । त्यहाँ जसरी गाई, भैंसी, गोरूहरूको सन्दर्भ जोडिएको छ, तिनीहरू चाहिँ गलतै हो भन्ने कुरा आयो । खगेन्द्र संग्रौला आफैले लेख्दा पनि बाघको आक्रमणबाट घाइते भएको भेडाको मासुसँगको प्रसंग वहाँले जोड्नुभएको छ । त्यो अलिक बढी भएको कुरा हामीले ‘सेन्सलाइज’ गराएका छौं । ‘यो कुरा बिग्रिएछ, स्रोतको हिसाबले लिएको कुरा देखिएन, त्यसले हाम्रो समुदायको आत्मसम्मानमा चोट पु¥याएको महसुस भएको छ । तपाइँ एउटा जिम्मेवार लेखक, त्यो समुदायको लागि फ्रन्ट लाइनमा रहेर लेखिरहने लेखक पनि हो । त्यसकारण तपाइँ बुझ्नुहुन्छ, उनीहरूलाई कसरी चित्त बुझाउने त्यो प्रक्रियामा तपाइँहरू जानुपर्छ ।’ भनेका छौं । पहिलो चरणमा खगेन्द्र आफैले राम्ररी नै बुझ्नुभयो र म यसबारे लेख्छु भन्नुभयो र वहाँले लेख्नु पनि भयो । अब लेखकबाट पनि केही आउँछ भनेर हामीले पर्खाइमा छौं । वहाँले केही महसुस गर्नुभएको छ र वहाँको पनि आफ्नो केही तर्क छ । जस्तैः पुरै किताबमा त मैले धेरै कुराहरू उठाएको छु । जुन समुदायले अहिले गलत म्यासेज गयो भनेर लाइनहरू पिक्अप् गर्नुभयो, त्योभन्दा अरु धेरै प्रसंगहरू वहाँहरूको पक्षमा छ । तर त्यो लाइनलाई मात्रै किन समाउनुभयो ? भन्ने गुनासो पनि राख्नुभयो । त्यसो त किताबमा जति नै ठूलो म्यासेज भएता पनि एकथोपा बिषले भाँडोमा भएको पुरै दूधलाई बिषमा परिणत गरिदिन्छ, खान नहुने हुन सक्छ । एउटा राम्रो कृति पनि त्यसरी सानो कुराले गर्दा धेरै कुरा बिग्रन सक्छ भन्ने हिसाबले हामीले सचेत गराएका छौं । अब आउँछ भन्ने छ, र आवश्यक परे जुन समुदायसँग हामीले काम गर्न खोज्यौं, केही सिर्जना गर्न खोज्यौं त्यही समुदाययलाई चोट पुग्छ भने त्यो काम हामीले गर्नु हुँदैन, त्यसमा बिबेक पु¥याउनुपर्छ भन्ने कुरामा वहाँहरू तीनै पक्षको सहमति छ । त्यो हिसाबले अब लेखक, प्रकाशक र स्रोत सबैबाट त्यो कुरा आउँछ भन्ने हाम्रो विश्वास छ । त्यो वातावरण बनेको छ । त्यसका लागि विभिन्न संस्थागत र व्यक्तिगत हिसाबले धारणाहरू निर्माण गर्ने र त्यसको आधारमा के ठिक के बेठिक भन्ने कुरा पनि अहिले चलि नै रहेको छ । तर हाम्रो भूमिका चाहिँ हामीले राखेका छौं जसअनुसार एउटा निकासमा जान्छ भन्ने हाम्रो विश्वास छ । त्यसमा हामी जो समुदायले पीडाको फिल गरेका छौं । वहाँहरूले पनि भएको भन्दा धेरै कुराहरूमा बढी आक्रोशित हुनुभन्दा पनि यसलाई ब्यालेन्समा राखेर सहि कुरा चाहिँ आएको छ । लगभग निस्किसकेको छ । त्यो सही कुरा जतिलाई हामीले स्वीकारेर जानुपर्छ र गलत कुरालाई सच्याएर जानको लागि हाम्रो पहल रहन्छ । र त्यो आगामी दिनमा यस्तो हुनुहुँदैन भनेर कुरा गरेका छौं ।

आउने संस्करणमा सच्याउने जुन खगेन्द्र संग्रौलाको स्पष्टीकरण छ, तर पहिलो संस्करण जहाँ–जहाँ पुग्यो त्यो त्यहि रुपमा नै दस्तावेजको रुपमा रहन्छ भन्ने याक्थुङ समुदायको चिन्ता छ नि ?
लेखकले आफ्नो आधारहरू दाबी गर्न सक्नुहुन्छ । गलत कुरा यो भन्ने लगभग आम समुदायमा ‘रिफ्लेक्सन’ आइसक्यो । तथ्य कुरा आइसक्यो । लेखकले जुन अगाडिका स्रोतका कुरा गर्नुभएको छ, त्यसमा पनि भेँडाबाहेकको प्रसंग छैन भनेपछि प्रष्ट कुरा आइसक्यो । समुदायमा त्यो बेला भएका कुरा तथ्यको रुपमा रहेको छ । त्यो तथ्य शोषण कसरी गरिन्थ्यो भन्ने उदाहरण पनि हो । अहिले आफ्नो परिवारलाई उच्च वर्गको पेश गर्न त्यसलाई एउटा केस प्रस्तुत गरेको भन्ने आरोप पनि छ । यदि त्यही नै भए पनि वहाँहरूले शोषण त गर्नुभको रैछ नि त समुदायमा । गरिबलाई शोषण त गरेकै रैछ । एउटा रैथाने समुदायमा नयाँ समुदाय पसेर त्यसरी शोषण गर्दा रहेछन् । त्यस्तो थियो भन्ने कुरालाई त हामीले हाम्रो आन्दोलनलाई सफल पार्ने तथ्यको रुपमा लिनुपर्छ । जुन श्रोतले नदिएको प्रशंग बाहिरको कुरा लेख्नुभएको छ । सिनो खाने थिति अनुसार लिम्बुहरूले हजुरिया सेवा गरेर बस्ने प्रसंग गलत सन्सेश हो । त्यही कुरामा लेखकले आफ्नो कुरालाई सच्याउनुपर्छ भन्ने नै हो । अब पहिलो संस्करण र सम्पादित संस्करणको सन्दर्भमा ‘सम्पादित संस्करण आउनै नसक्ला नि त ! आएन भने त त्यो आम समुदायलाई छलेको हुने भयो’ भनेर हामीले भनेका छौं । दोस्रो संस्करण आएको खण्डमा सच्चिएरै आउछ अवश्य । नसच्ची आयो भने त यसले अर्कै स्थिति सिर्जना गर्छ । सामाजिक द्वेष फैलाउने र सामाजिक द्वन्द चर्किने स्थिति आउँछ । तर, अहिलेको अवस्थामा भने प्राज्ञिक लेखनहरुमा चाहिँ कति कुराहरू दोस्रो संस्करणमा सच्याइन्छ, त्यही अनुसारको वहाँहरूले कुरा गर्नुभएको छ । कतिपय पुस्तकहरू गैसकेपनि तत्कालै त्यहीँ पनि उपाय छ नि छ न त ! तर पछिल्लो ‘राइटिङ’हरूले काट्न चाहिँ काट्छ है । लेखक आफैले पनि हिजो मैले लेखेको कुरा गलत प्रस्तुत गरेछु, त्यो कुरा म सच्याएर लेख्छु भन्दा थुप्रै ‘फाइन्डिङ्स’हरू पनि अनुसन्धानकै क्रममा पनि हुन्छ । तर त्यसो हुँदा पनि आम समुदायलाई चाहिँ तत्कालको ‘हिम्युलिएसन फिलिङ’ भयो त्यसको समाधान तत्कालै चाहियो नि त ! त्यसैले तत्कालको लागि चाहिँ लेखक या प्रकाशकले के कुरा चाहिँ महसुस गर्नुपर्छ भने, जुन कुरा गल्ती भयो, त्यो गल्ती भएको कुरालाइ गरें है भनेर हिचकिचाउनुहुन्छ जस्तो मलाई लाग्दैन । हुँदैन पनि । र हामीले पनि नभए भौतिक रुपमै उत्रन्छौं भन्ने हिसाबले पनि जानू हुँदैन । यो सच्चिनुपर्छ । वहाँहरूले कसो गर्दा शान्तिपूर्वक वातावरण सिर्जना गर्न सकिन्छ, त्यसका लागि तयार छौं भन्नुभएको छ ।

कियाचुको तपाइँ सातौं अध्यक्ष हुनुहुन्छ । यश अघिको नेतृत्वभन्दा फरक काम गरिहेको छु भन्ने लाग्छ तपाईंलाई ?
त्यो चाहिँ तपाइँहरूले भन्नुपर्ने होला जस्तो लाग्छ, फरक गर्‍यौं कि गरेनौं भन्ने कुरा चाहिँ । मैले चाहिँ नयाँ मुद्दा लिएर नयाँ ‘पिकअप’ गरेर गर्नुपर्ने खासै केही गरेको छुइनँ । कार्यक्रमहरूको डिजाइन चाहिँ गरेका छौं । आधार त पुरानै हो त्यसलाई शशक्त रुपमा अगाडि लाने हो । मलाई नयाँ गर्नुपर्ने छ जस्तो लाग्दैन । पुरानै एजेन्डाहरू ‘स्ट्रङ्’ छन् । तिनीहरूलाई सशक्त बनाएर लानु छ । अर्को कुरा हामीसँग कतिपय लिमिटेशन छ । लिमिटेशनको कारण ‘ओभर एक्स्पेक्टेड’ हुन आवश्यक हुन्छ कि हुन्न तर ग्राउन्डमा काम गर्नुपर्ने हुन्छ जस्तो लाग्छ । र, निर्वाचित भएपछि हामी धेरैजसो फिल्डमै छौं । ‘अफिसियल म्यानेजमेन्ट’ एउटा पाटो हो, यो भन्दा अगाडिको नेतृत्वले निकै राम्ररी स्थापित गर्नुभएको छ । आदिवासी संस्थाहरूमा नेपालको एउटा राम्रो संस्थाको रुपमा स्थापित भएको छ । मुद्धाहरु स्थापित भए, संगठनहरू बने तर गाउँमा त्यही कुराहरूको स्पष्टता नहुँदा भ्रम सिर्जना हुने, समाजमा विभाजन आउने अनि विवादहरू धेरै हुने हुन्छ । हाम्रो कार्यकालमा त्यसलाई निमिट्यान्न पारेर सक्यौं भने हाम्रो कार्यकालले महत्व राख्छ भन्ने लागेको छ ।

प्रश्न यहिँनेर आउँछ कि, लिम्बुहरूमा धार्मिक विवाद छ । यसअघिका नेतृत्व घरिघरि यस्ता विवादमा मुछिने गर्थ्यो । यसमा एकताका लागि कियाचुले कस्तो भूमिका खेल्छ र खेल्नुपर्छ जस्तो लाग्छ ?
जुनबेला कियाचु स्थापित भयो, त्योबेलाको बिषयबस्तु अनुसार हाम्रो पहिचानलाई कसरी स्थापित गर्ने भन्ने सन्दर्भमा ‘लिम्बु’ भनेर स्थापित गरेर लग्यो । ३४ बर्षसम्म आइपुग्दा अब ‘डिस्कोर्स’मा लिम्बु भन्नाले जुन किसिमको ‘अनरशिप’ दिन्छ, त्योसँगै अब आफ्नै जिब्रोले उच्चारण गर्ने याक्थुङलाई पनि स्थापित गर्ने भन्ने हो । अहिले म अध्यक्ष हुँदा यो टीमले लिम्बु र याक्थुङलाई कानुनी रुपमा स्थापित गर्न सक्यौं भने यो महत्वपूर्ण र नयाँ हुन्छ । र यसले चाहिँ एक ठाउँमा ल्याउन सहज गराउछ भन्ने लाग्छ । किनकी अहिलेसम्म हाम्रो समुदाय लिम्बु र याक्थुङ मै बाझिरहेको छ । कुरा चाहिँ एउटै हो । याक्थुङ र लिम्बु एउटै हो भन्ने कुरालाई हामीले थुप्रै ठाँउ प्रस्तुत पनि गरिसकेका छौं । कानुनी रुपमा पनि एउटै हो भन्ने ‘इन्स्योर’ गर्नुपर्ने भएकोले यो टिमले दस्तावेजीकरणको रुपमा काम गर्न लागि परेको छ । यसलाई दस्तावेजीकरण गरेको खण्डमा हाम्रो कार्यकालको महत्वपूर्ण काम रहनेछ । सरकारी सबै निकायहरूसँग हामीले काम गर्दा महत्वपूर्ण डकुमेन्टेसनहरूमा सरकार पक्षको र हाम्रो पक्षको पनि र कानुनी रुपमा स्थापित गर्ने भन्ने छ । एक बनाउने यो पनि अर्को पाटो हो । धर्मको कुरामा कियाचुले सबै लिम्बुमा एकताको सन्देश आओस् भनेर किरात धर्म अफिसियल रुपमा लेखाउदै आयो र लेखाउनुपर्छ भनेर आह्वान गर्‍यो । जसरी याक्थुङको कुरा समुदायमा आए जस्तै गरी धर्ममा पनि किरात सँगसँगै अरु धार्मिक आस्थाका कुरा पनि आए । क्रिश्चियन मान्ने लिम्बु पनि छन्, कतिले साहिबाबा मान्लान् । कतिले आफूलाई युमा भनेर लाग्नुभाछ । यसमा हामीले आधारभूत रुपमा काम गरिरहेको हो । यो ११ औं महाधिवेशनको महत्वपूर्ण निर्णय पनि हो । यो ‘डिस्कोर्स’ निकै बर्ष चल्यो तर चुम्लुङले यसमा अगाडि छिर्न चाहेन । किरात धर्म भनेर अगाडि लग्यो । यसमा अर्को भ्रम के छ भने किरात भन्ने बित्तिकै कारुम्बा चाहिँ टाउको हो भन्ने छ । तर त्यो हैन । कियाचुले किरात धर्म भनेको त हामी परम्परागत रूपमा जुन कुरा लिम्बुहरूले गरेर ल्याए, त्यही कुरालाई नामाकरण गर्ने क्रममा ‘किरात’ भनेर गरिएको थियो । अहिले हाम्रो मुन्धुम चाहिँ सेन्टर हो । मुन्धुमलाई आधार मानेर धार्मिक आस्थालाई पालना गर्दै लिम्बु भित्र धार्मिक सहिष्णुतालाई कायम राखेर लैजानुपर्छ भन्ने गरिको एउटा आधार बनाएर लगेका छौं । मुन्धुम हैन, बाइबल चाहिँ मुख्य आधार हो भनेर आएमा चाहिँ स्वीकार गर्न सकिँदैन है भनेर भनेका छौं । किरातभित्र विभिन्न आआफ्नै अभ्यासहरू छन् । जस्तै, युमा साम्यो, पछि थेबा आउन सक्ला तर मुन्धुमकै आधारमा भएर आएको छ भने, त्यसमा हामी ‘लिबरल’ भएर जाने हो । ११ औं महाधिवेशनपछि धार्मिक विवाद अलिक साम्य भएको हो कि जस्तो लाग्छ । ‘रिजिट’ हुनुहुँदैन, लिम्बु भित्रको धर्म निरपेक्षता हुनुपर्छ भन्ने छ । राज्य धर्म निरपेक्षता बनाउने, लिम्बुको संस्था कियाचु धर्म निरपेक्ष हुनुपर्छ भनेर लडाइँ गर्ने अनि आफ्नो समुदायमा चाहिँ धर्म निरपेक्षता नमान्ने ? यो सैद्धान्तिक कुरामा हामी स्पष्ट हुनुपर्छ । धर्मनिरपेक्षता व्यक्तिगत स्वतन्त्रतासँग निर्भर रहन्छ ।

बाँकी योजनाहरू केही छन् ?
कियाचुको कार्य दुई किसिमका छन् । पहिलो नियमित कार्यक्रम गर्छौं, जुन कियाचु लिम्बुको साझा संस्था भएको हुँदा नगरी हुँदैन । जस्तै, विभिन्न चाडहरूलाई पुनःस्थापित गरि फ्रेममा लानु छ । जस्तै चासोक तङ्नाम स्थापित भयो । कक्फेक्वा तङ्नाम, येले तङ्बे स्थापित गर्नुछ । अर्को धार्मिक रुपमा स्पाष्टता पार्ने कुरा । बाँकी चाहिँ ‘प्रोग्रामिङ’का कुरा चाहिँ नयाँ हुन सक्छ । जनयुद्ध, संघीयताको नयाँ संरचना र कोभिडको कारण बीचमा हाम्रो संगठन कमजोर भइरहेको थियो । अहिले हाम्रो मुख्य उदेश्य भनेकै संगठन मजबुद बनाउने र सैद्धान्तिक कुरा फिल्डमा पुर्‍याउने रहेको छ । संगठन र सैद्धान्तिक कामसँगै अनुसन्धानात्मक काम पनि गर्ने कि भन्नेतर्फ लागेका छौं । भाषाको ‘रिभाइभ’ र नामाकरणको बारेमा पनि काम गरौं भन्ने छ । नयाँ चाहिँ त्यस्तो केही छैन ।