December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

कोभिड नलागोस् भनेर साह्रै धेरै डल्ले खर्सानी खाएँ –मनु नेम्बाङ (गायिका)

1.9K

लिम्बू जातिमा मात्र गाइने पाःलामको स्वर साम्राज्ञीकै रूपमा सम्बोधन गर्न थालिएकी हुन् मनु नेम्बाङ । २०३६ सालमा साविक फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडा पाँचथरमा बुबा लोकबहादुर नेम्बाङ र रूपाहाङ्मा सम्बाहाम्फेको कोखबाट जन्मिएकी हुन् मनु । वि.सं. २०५४ सालदेखि गाउन सुरु गरेकी मनुले आनी साक्थिमको ‘तुतुगेन यम्बा ‘बोलको गीत गाएकी थिइन् । ०५७ सालमा स्वरपरिक्षा उतीर्ण गरेकी मनुले २०५८ सालमा ‘लैजाउ रेलैमा’ एल्बम ल्याएकी हुन् । त्यसपछि क्रमशः लिम्बू एल्बम ‘सेमेक्वा’, नेपाली लोकआधुनिक ‘सयौं चोट’, ‘पाःमा’, ‘मनुको मन’, ‘मिम्जिरेन् मिक्तोक’, ‘निङ्वारे पान्हा?’ ल्याएकी छिन् । यि एल्बमहरू २०५८ देखि २०७७ सालभित्र ल्याएकी हुन् ।

लिम्बू चलचित्र तथा धेरैभन्दा धेरै लिम्बू नेपाली एल्बमहरूमा स्वर दिएकी मनु नेम्बाङ किरात याक्थुङ चुम्लुङकी केन्द्रीय सदस्य, फक्ताङलुङ सयङकी अध्यक्ष, कियाचु साँस्कृतिक परिषदको कोषाध्यक्ष, नेम्बाङ समाज नेपालको सचिव, आदिवासी जनजाति कलाकार संघको केन्द्रीय सदस्यलगायतमा रहेर संघसंस्थामा पनि क्रियाशिल छिन् ।

उनले २०६७ सालमा उदयकला पुरस्कार २०६८ सालमा किरात बहुभाषिक पुरस्कार प्राप्त गरेकी छिन् । कियाचु पाँचथर, मुहिगुम अङ्सीमाङ फाल्गुनन्दको १२८ औं जन्मजयन्ति, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ सयङलगायत धेरै संघसंस्थाबाट सम्मान पाएकी छिन् ।

Advertisement

करिब १३०० गीत गाइसकेकी मनुले युके, हङकङ, कोरिया, स्वीजरल्याण्ड, फ्रान्स, बेल्जियम, हल्याण्ड, जर्मन, सिङ्गापुर, मलेसिया, कतार, थाइल्याण्ड, बंगलादेश, भारतको भ्रमण गरेकी छिन् । र, त्यहाँ आफ्नो प्रस्तुति पनि दिइसकेकी छिन् ।

चलचित्रको पाश्र्व गायन तथा स्वाङ्करणसमेत गर्ने मनुले आनि साक्थिम, लुङ्मा तुक्किले, मासेमी, नुमाफुङ, माराम, चेसुङ, केःसाङ्ला, सुम्निमालगायत धेरै चलचित्रमा स्वर तथा स्वाङकरण गरिदिएकी छिन् । एफएलएफ अवार्डमा उत्कृष्ट महिला स्वरबाट दुईपटक अवार्डेड भइसकेकी उनले लिम्बू चलचित्र ‘केःलाङ’को निर्देशन पनि गरेकी छिन् ।

कोभिड –१९ को सुरुवाती समयमा उनी युकेमा थिइन् । त्यसैको कारण १ वर्ष उतै पनि रहिन् । युकेमा कोभिडको लक्षणले लामो थलिएकी मनुले नेपालमा पनि लामो समय कोभिडकै बिरामी बनिन् । उनको अनुभवलाई नेपालमामिला डटकमले यसपटक प्रस्तुत गरेको छ ।

+++
म युकेमा थिएँ । नेपालमा कोभिडको हल्ला मात्रै आएको थियो । सुरुमा त मैले कोभिडलाई अन्य भाइरस जस्तै सामान्य रूपम लिएँ । डर लागेन । युकेको जाडो ठाउँमा जब कोभिड अत्यधिक रूपमा फैलिएर मान्छेलाई गाह्रो पारेर मान्छेहरू मर्न थालेपछि म एकदम धेरै डराएँ । म युके पुग्नु, कोभिड पनि सुरु हुनु, लकडाउन सुरु हुनु एकदमै मेरो दुर्भाग्य थियो मेरो लागि।

सुरुसुरुमा त युकेमा नेपालीहरूलाई कोभिड लाग्दैन भन्ने भ्रम थियो । नेपालीहरूले धेरै जाँडरक्सी खान्छन्, अकबरे खर्सानी, चिम्भिङ, खानाक्पाहरू जस्ता आयुर्वेद टाइपको खानेकुराहरू धेरै खाएपछि नेपालीहरूलाई कोभिड लाग्दैन भन्ने विश्वास थियो । त्यतिबेला मैले पनि कोभिड नलागोस् भनेर साह्रै धेरै डल्ले खर्सानी खाएँ । चिम्भिङ, वालेक्पा, खानाक्पा, डल्ले खर्सानी त दिनहुँ पिसेर खाइन्थ्यो । तर हैन रहेछ । युकेमा बस्दाबस्दै ममा पनि कोभिडको लक्षण देखियो । युकेमा भिजिटरले पिसिआर टेस्ट गर्ने, उपचार गर्ने अवस्था थिएन जस्तो लाग्यो । थियो कि ? तर मैले ती सेवा सुविधाको खोजी गरिनँ । डरले पनि खोजिएन । जाँदा पनि गइनँ । त,र मलाई एकदमै गाह्रो भएको थियो । अत्यधिक ज्वरो आउने, भित्रि हड्डीबाटै चिसो भएर आउने, डायरिया हुने, भोमिट हुने, टाउको दुख्नेलगायतका समस्या भए । खोकी लामो चल्यो ।

युकेमा करिब १ वर्ष बसेँ । त्यो वर्षभरी यति धेरै खोकेँ कि फोक्सो नै बाँकी छैन कि जस्तै भएको थियो । चेक गरिएको भए पक्कै कोभिड देखाउथ्यो । तर विदेशीलाई चेक गर्दा आउने समस्याको कारण चेक गरिनँ । घरेलु औषधी वाफ लिने, तातो झोल पदार्थहरू बढि पिउने, लोकल कुखुराको सुप लिएपछि ज्वरो अलि कम भयो ।

युकेबाट नेपाल पुग्नेले कोभिड पु¥याए, दुई तीनजनालाई पक्रिए रे ! यस्ता हल्लाहरू युकेमा सुनियो । यस्तो हल्लाले झनै तनाव बनाउथ्यो मलाई । अनि उपत्यकाका तीनै जिल्लामा कोभिड भेटिन थाल्यो भन्ने खबर सुनिन थाल्यो । त्यसले झनै विरक्त बनाउथ्यो ।

म नेपाल आइपुग्छु भन्ने विश्वास नै हराउन थालेको थियो । युकेमा निधन भयो भने आफन्तले नै देख्न नपाउने स्थिति थियो । यदि बितीहालियो भने कता लान्छन्, के गर्छन् केही थाहा नहुने स्थिति थियो । पछि चाही १० जना जति मलामी दिन थालेको छ भन्ने सुनेँ । त्यस्तो सुन्दा डल्लो परेर रुनेबाहेक अन्य अवस्था नै थिएन ।

युकेको १२ महिना बसाई मेरो लागि कष्टकर नै भयो । तर त्यतिबेलै याक्थुङ कल्चरल ग्रुपले ‘अनलाइन पाःलाम प्रतियोगिता’ सञ्चालन गर्‍यो । जसले निर्णायक मण्डलमा मलाई पनि राखेको थियो । त्यसले मलाई व्यस्त बनायो । व्यस्त रहेपछि रोगसँग लड्ने सामाथ्र्य आउने रहेछ ।

युकेको १२ महिना बसाई मेरो लागि कष्टकर नै भयो । तर त्यतिबेलै याक्थुङ कल्चरल ग्रुपले ‘अनलाइन पाःलाम प्रतियोगिता’ सञ्चालन गर्‍यो । जसले निर्णायक मण्डलमा मलाई पनि राखेको थियो । त्यसले मलाई व्यस्त बनायो । व्यस्त रहेपछि रोगसँग लड्ने सामाथ्र्य आउने रहेछ । समयको सदुपयोग भयो, सहज ढङ्गले समय बिताइयो । काम नभएर कोठाभित्र गुम्सिँदा बिरामले झनै चाप्ने रहेछ ।

पाःलाम प्रतियोगितामा समावेश भएका ३५२ वटा पाःलाम सुन्दा दिमाग र मोवाइल दुवै तात्तिरहेको हुन्थ्यो । मोवाइलको स्क्रिन स्क्रोल गर्दा हातका औंला नै दुखिरहेका हुन्थे । कुनै पाःलामहरू उस्तै उस्तै लाग्थे । विशुद्ध लिम्बू भाषामा हुनुपर्ने भएकोले शब्दशब्द केलाउनुपथ्र्यो । सुन्दा सुन्दै बिर्सिइन्थ्यो । फेरि दोहोर्‍याएर सुन्दा दिमाग र मोवाइल दुबै तात्तिएका हुन्थे । कोभिड नआएको भए शायद पाःलाम प्रतियोगिता हुन्नथियो । प्रतियोगिता नभएको भए अहिले पाःलामको बहार यसरी आउँदैनथियो ।

युकेमा भिषा लागेपछि ६ महिना बस्न पाइन्छ । उक्त अवधि कटे कारवाही भोग्नुपर्ने हुन्छ । कारवाहीमा जीवनभर युके जान नपाउने खालको हुन्छ । तर कोभिडको कारण १ वर्ष बस्नुपर्यो । भिषा थप्ने व्यवस्था युके सरकारले ल्यायो । जहाज नचल्ने, हिँडेर आउन नसकिने अवस्था थियो ।

नेपाल आउन मन नलागेको होइन । उताको चाडबाड आफ्नै परिवारभित्र रमाउनुपर्ने अवस्था थियो । थोरै आफन्तसँग भेटघाट गर्नेबाहेक नेपालको जस्तो दशैंको पिङ खेल्न नपाइने, तिहारमा देउसीभैलो हिँडन नपाउँदा साच्चिकै मन विरक्तिएको थियो । वल्लो घर, पल्लो घर भेटघाट नहुँदा बढो सकसको जिन्दगी जिएको थिएँ ।

अलि पछि युकेमा पनि सामान्य हुनथाल्यो । फाट्टफुट्ट कार्यक्रम हुन थाले । भेटघाटका कार्यक्रमहरू बन्न थाले ।

नेपाल आउने मिति नजिकियो । अन्तर्राष्ट्रिय यात्रा गर्नपर्दा पिसिआर अनिवार्य टेष्ट गर्नुपर्ने हुन्थ्यो । त्यसबेला म ज्यादै खोकिरहेको थिएँ । जसले गर्दा पोजेटिभ नै आउँछ कि भनेर म अत्यधिक डराइरहेको थिएँ । पोजेटिभ नै आए नेपाल पठाउँदैनथ्यो । त्यसैले मुटु त ढ्याङ्ग्रो जस्तै बजिरहेको थियो । तर भाग्यवस पिसिआर नेगेटिभ आयो । २४ घण्टाभित्र रिपोर्ट दिने कुरा थियो, तर उक्त अवधिअगाडि नै मेरो नेगेटिभ आएको भन्दै कंग्राचुलेसनको म्यासेज आयो । त्यसको भोलिपल्टै म त नेपाल आइहालेँ नि ।

म एक्लै नेपाल फर्किरहेकी थिएँ । जहाजमा कोही चिनजानका थिएनन् । झोला बोक्ने, माक्स र पिपिई अनिवार्य लाउनुपर्दा असहज थियो । त्यहिमाथि ज्वरो र खोकी साथैमा थियो । मान्छेको छेउमा खोक्दा शंका गर्छन् भनेर खोकी रोक्दारोक्दा हैरान थिएँ । करिब ११ घण्टाको जहाज यात्रामा खोकी रोक्दा रातो रातो भएकी थिएँ । जसले गर्दा उक्त यात्रा धेरै नै असहज बनेको थियो ।

लासमात्रै नेपाल पुग्छ कि भन्ने सोचेकी मैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टेक्दा ठूलो सास आयो । अब मरे पनि आफ्नै देशमा मर्न पाउँछु भन्ने लाग्यो, उताजस्तो कसैले नभेट्ने, कसैले नदेख्नेगायतका समस्या थिएनन् ।

खोक्दा-खोक्दा मेरो फोक्सोमा धेरै असरपरिसके रहेछ । मलाई त टिवी नै लागिसकेको रहेछ । टिवीको औषधी ६ महिनासम्म खानुप¥यो । डाक्टरले अस्पतालभन्दा घरमै बसेर आराम गर्ने सल्लाह थिए । फेरि कोरोनाले संक्रमण गरे बचाउन सकिन्न भन्ने डाक्टरको सल्लाह थियो । त्यस सल्लाहअनुसार म घरमै बसेर आराम गरेँ । ६ महिना नियमित औषधी सेवन गरेता पनि ४ महिना जति म कहिँ ननिस्की घरमै आराम गरेर बसेँ । समयावधि पुगेपछि टिवीको रिपोर्ट नि नेगेटिभ आयो ।

घरमा बसेर नि म गीतसंगीतको चिन्तनमा लागेको थिएँ । डाक्टरले उक्त अवधिभित्र नगाउन सल्लाह दिएपनि नयाँ गीत, पाःलामको सिर्जना भने गरिनै रहेँ । विरामी भएर घरमा बस्दा नि विभिन्न संघसंस्थाका पदाधिकारी, सदस्य, आफन्त, शुभचिन्तक तथा साथीहरू भेट्न आए । त्यसैले विरक्तिलो दिनहरू चाही मैले बिताउन परेन ।

६ महिना पूरा भएपछि म पूर्व जानुपर्ने भयो । मेरो मामाको छोरा बित्नुभयो । उक्त भ्रमणमा पनि मैले एक काम दुई पन्थ लिएर गएको थिएँ । दाईको बर्खान्त भ्याउनु थियो । पहिले नै मैले बर्खान्तको पाःलाम रेकर्ड गराएकी थिएँ । उक्त पाःलाम बर्खान्तकै समयमा भिडियो खिच्नु थियो । दाईको बर्खान्तकै भिडियो खिचेँ । ‘निङ्वारे पाःनहा?’ (मनका कुराहरू) एल्बममा उक्त पाःलाम समाविष्ट छ ।

तर सोचेजस्तो भएन, पानी परेर केही काम गर्न दिएन । जाँदा गाडीको धपेडी, गाउँमा ओहोरदोहोर गर्दा शरीरले भोग्नुपरेको सास्तीले भर्खरै विरामीबाट उत्रिएको मलाई गाह्रो बनायो । १ हप्तामा सम्पुर्ण काम सक्ने योजना थियो । तर १४ दिन लाग्यो । टिम नै लगेकोले गर्दा पानीमै काम गर्नुप¥यो । भिजेको दिन नै मलाई ज्वरोले पक्रियो । गाउँदेखि लब्रेकुटीसम्म भिडियोमा उतार्नुथियो । लब्रेकुटीमा बस्दा मलाई ज्वरोले सताउन थाल्यो । सुटिङ सक्नसाथ झापा झरेर काठमाडौं आइयो ।

छिमेकमा कोभिडले निधन भएको खबरले आतिन्थेँ । मेरो नजिकै राई मोमो सेन्टर चलाउनेको परिवारका ४ जना बित्नुभयो । उक्त मोमो सेन्टरमा ताला लाग्यो । नखिपोटका केही घर नै खाली भए । त्यो सुन्दा मेरो पनि मन पिरोलिन्थ्यो । शायद बाँचिदैन भन्ने हुन्थ्यो ।

मलाई फेरि पनि कोरोनाकै लक्षण देखायो । चेक चाही गराइनँ । अस्पताल जाँदा हेर्न नआउने, मर्न सकिने आदि त्रास सबैले देखाए । अनि घरेलु उपचारमै लागेँ । करिब १२ दिन यति गाह्रो बनायो कि म मान्छेजस्तो हुन्छुजस्तो पनि लागेन । एकदमै धेरै कुटाई खाएर फालेको जस्तो ज्यान दुख्यो । खानाहरू पनि रुवा भिजाएर खाएजस्तो मात्रै हुन्थ्यो । पानी गुलियो न गुलियो हुन्थ्यो । गन्ध आएको बेला फरक तथा दिक्क लाग्ने हुन्थ्यो । भोक भने चौबिसै घण्टा लाग्थ्यो । खाँदैगर्दा पनि भोक लागिरहन्थ्यो । मेरो भदैनी, घरको मान्छे, अफिसको मान्छे सबैलाई बिरामले छोयो । पानी तताएर दिने मान्छे नै थिएनन् । कान्छा दाईको छोरा काठमाडौंमा होष्टल बसेर पढिरहेको थियो । ऊ आएर पानी तताइदिन्थ्यो । कोरोनालाई जोक नसम्झिनु, लागिसकेपछि यसले सिध्याएर छाड्छ भन्थे लाग्नेहरूले । मलाई उक्त कुरा ५–५ मिनेटमा याद आइरहन्थ्यो ।

छिमेकमा कोभिडले निधन भएको खबरले आतिन्थेँ । मेरो नजिकै राई मोमो सेन्टर चलाउनेको परिवारका ४ जना बित्नुभयो । उक्त मोमो सेन्टरमा ताला लाग्यो । नखिपोटका केही घर नै खाली भए । त्यो सुन्दा मेरो पनि मन पिरोलिन्थ्यो । शायद बाँचिदैन भन्ने हुन्थ्यो ।

कोरोनाको खोपले ६० प्रतिशत जति जोगिने कुरा सुन्थेँ । फेरि खोपले धेरै प्यारालाइसिस भयो भन्ने पनि सुन्थेँ । धेरैलाई ज्वरो आयो रे ! कसैलाई के भयो रे ! यस्तो सुन्दा खोपप्रतिको धारणा नै फरक भएर गयो । फेरि उमेरअनुसार मात्रै दिइरहेकोले गर्दा मैले खोप लाउने अवस्था थिएन । त्यसैले भ्रम र उमेरअवस्थाका बिच मैले खोप लाउन पाइन । तैपनि मैले बुझेको छु –खोप लाएपनि शतप्रतिशत नलाग्ने भन्ने हुन्न । सचेत रहनु नै पहिलो उपचार हो । भ्रम र दिग्भ्रममा नरहनुस् भन्ने सुझाव पनि दिन चाहन्छु ।

प्रस्तुतिः सीता तुम्खेवा