काठमाडौं– विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ। दुई हप्तादेखि उपचाररत थापाको मंगलबार दिउँसो ४:२५ मा निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले फेसबुकमार्फत् जानकारी गराएका छन्।
दुई हप्ताअघि कोरोना संक्रमित भएपछि उनी अस्पताल भर्ना भएका थिए। पछिल्ला दिनमा भने उनलाई मेडिसिटी अस्पतालमा इसिएमओ प्रविधिबाट उपचार गराइएको थियो। सुरुमा ह्याम्स भर्ना गरिएका उनलाई ग्रान्डी हुँदै मेडिसिटी पुर्याइएको थियो। उपचारकै क्रममा कोरोनामुक्त भएता पनि उनको अवस्था गम्भीर नै थियो। सोमबार साँझ विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले कोरोना रिपोर्ट नेगेटिभ आए पनि, त्यसअघि भाइरसले शरीरमा दीर्घकालिन क्षति गरिसकेको छ’ भन्दै ट्विट गरेका थिए।
उनी गम्भीर बिरामी भई अस्पतामा उपचाररत अवस्थामा रहेको खबर सार्वजनिक भएपछि उनको स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा पोस्ट भइरहेका थिए। साथै, उनको उपचारमा सहयोग पुगोस् भनेर देशभित्र र बाहिरका शुभेच्छुकले रकम जम्मा गरिरहेका थिए। तर उनले रोगलाई जित्न भने सकेनन्।
सडक प्रदर्शनलाई रचनात्मकता दिने र वैकल्पिक राजनीतिको सुरुवातकर्ताको रुपमा चिनिन्छन्, थापा। उनले आफ्नो अभियान र पार्टीमा धेरै युवायुवतीलाई जोडेका थिए।
दोस्रो संविधान सभाबाट संविधान जारी हुनुपर्ने दिन नजिकिँदै जाँदा चलेको ‘ज्याला पूरा लियौ, अब संविधान देऊ!’ भन्ने अभियान, नेपाल बन्दका विरुद्ध ‘नेपाल खुला छ!’ भन्ने अभियान, महिला हिंसा विरुद्धमा अभियान तथा गोविन्द केसी अनसनमा बस्दाताका उनको पक्षमा आयोजना गरिएका अनेक प्रदर्शनहरुमा थापा जोडिएका थिए। उनले सदैव सत्य र निष्ठाहरुको पक्षमा आफूलाई उभ्याएका थिए। कतिपय अवस्थामा उनी एक्लै सडकमा उभिएर समेत रचनात्मक प्रदर्शन गर्थे।
पहिलो संविधान सभाबाट संविधान जारी हुन नसकेको सकसपूर्ण अवस्थामा उनले आफ्नो भूमिकालाई थप सक्रिय बनाएका थिए। सामाजिक सञ्जालमार्फत् उनले युवाहरुलाई संगठित गरेका थिए। र, विभिन्न सामाजिक मुद्दाहरुमा जोडिएका थिए। दोस्रो संविधान सभामा आइपुग्दा उनीहरुमध्ये ४ जनाले काठमाडौंका चार क्षेत्रबाट उम्मेदवारी दिएका थिए।
२०७० मंसिर ४ गते सम्पन्न निर्वाचनमा काठमाडौं १ बाट गोविन्द नारायण, ४ बाट सन्तोष प्रधान, ५ बाट उज्वल थापा र ८ बाट पुष्कर बमले उम्मेदवारी दिएका थिए। पार्टी गठन भइनसकेकाले उनीहरुले स्वतन्त्र उम्मेदवारी दिएका थिए। कुकुर चिह्नबाट चुनाव लडेका उनीहरुले उल्लेखनीय मत पाउन नसकेता पनि चर्चा भने बटुलेका थिए।
२०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा थापा विवेकशील साझाको तर्फबाट काठमाडौं ५ बाट उम्मेदवार भएका थिए। विजयी ईश्वर पोखरेलले २३०२९ मत ल्याउँदा तेस्रो भएका उनले ६८५३ मत ल्याएका थिए।