June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

जावलाखेलको चिडियाखाना ल्याइयो महिलालाई लैजाने बाघ

830

काठमाडौं । सुदूरपश्चिममा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एउटा पोथी बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको छ । चिडियाखाना ल्याएसँगै अन्दाजी ५ वर्षको बाघको नाम महारानी राखिएको छ ।

उक्त बाघले शुक्रबार बिहान कञ्चनपुर बेलौरी नगरपालिका–८ पथुइ गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा स्थानीय महिलाहरूमाथि आक्रमण गरेको थियो । बाघले ४२ वर्षीया गंगादेवि चन्दमाथि आक्रमण गर्दा उनको मृत्यु भएको थियो। उनीसँगै घाँस काटिरहेका महिलाहरू भाग्न सफल भएका थिए ।

महिलालाई आक्रमण गरेर लगी बेपत्ता पार्ने उक्त पाटे बाघलाई राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले झन्डै २२ घन्टापछि नियन्त्रणमा लिईएको थियो । बेपत्ता महिला मृत अवस्थामा फेला परेकी थिइन् ।
शुक्रबार दिनभर र रातभर खोजे पनि फेला नपरेकी गंगादेवी शनिवार बिहान पुनः खोजी गर्ने क्रममा २२ घन्टापछि उनको शव फेला परेको थियो ।

Advertisement

यता, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघसमेत नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएको बाघलाई बेल्डाँडी पोस्टमा राखिएमा आज जावलाखेलको चिडियाखानमा ल्याइएको हो ।

बाघले मानिसमाथि आक्रमण गरेको खबर पाउनसाथ कुण्डा सब डिभिजन वन कार्यालयले चन्द र बाघको खोजी गर्न सुरु गरेको थियो । डिभिजन वन कार्यालयः कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय हात्तीसहित, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा सरक्षण कार्यालय लगायतका निकायहरू क्रियाशिल भएका थिए । सो दिनको राति साढे ११ बजेसम्म खोजी गर्दा पनि फेला नपरेपछि भोलिपल्ट बिहानै खोजी गरिएको थियो । त्यसदिन भने पौने ८ बजे बाघलाई डार्ट हानेर नियन्त्रणमा लिइएको थियो । प्रहरीका अनुसार फेला परेकै स्थानमा महिलाको शव पनि फेला परेको थियो ।

चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो । अन्य महिलाहरु भागेर ज्यान जोगाउन सफल भए पनि चन्दलाई भने बाघले लिएर गएको थियो ।