February 5, 2023, Sunday
२०७९ माघ २३
1:37:26 pm

सुदूरपश्चिममा पुनः मतदानबाट पनि सभामुख चयन हुन सकेन

565

धनगढी — सुदूरपश्चिम प्रदेशसभाले शनिबार पनि सभामुख चयन गर्न असफल भएको छ । सभामुख चयनका लागि बिहीबार भएको मतदानमा कुनै पनि उम्मेदवारले निर्वाचित हुन आवश्यक मत ल्याउन नसकेपछि शनिबार पुनः मतदान भएको हो ।

सभामुख चयनका लागि दोस्रो पटक शनिबार भएको मतदानमा सत्ता गठबन्धनका तर्फबाट सभामुख पदका उम्मेदवार रहेका माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारीले बहुमत प्राप्त गर्न नसकेपछि सत्ता गठबन्धन नैतिक संकटमा परेको छ ।

पुनः मतदानमा पनि गठबन्धनका उम्मेदवार भण्डारीको पक्षमा २२ मत मात्र पुुगेपछि सभाध्यक्ष शिवराज भट्टले अस्विकृत भएको घोषणा गरे । सत्ता गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्तिका ७ जना सांसदहरु तटस्थ बसेपछि उनका पक्षमा बहुुमत जुुट्न नसकेको हो ।

Advertisement

सुदूरपश्चिममा माओवादी केन्द्र (११), एमाले (१०), नागरिक उन्मुक्ति (७) र राप्रपा (एक) गरी २९ जनाको सत्ता गठबन्धन छ । ५३ सदस्यीय सुदूरपश्चिममा सभामुख निर्वाचित हुन २७ सांसदको आवश्यकता पर्छ ।

बिहीबारको मतदानमा ५० जना मतदानमा सहभागी भएका थिए । त्यसमध्ये सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भण्डारीको पक्षमा २६ मत खसेको पछि एक मत अपुुग भएको थियो । विपक्षी गठबन्धनकातर्फबाट भने कांग्रेसका मानबहादुर रावल सभामुख पदका उम्मेदवार छन् । उनले पहिलो दिनको मतदानमा २३ मत पाएका थिए भने शनिबार भएको मतदानमा २२ मत पाए । विपक्षमा कांग्रेस, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसद छन् ।