September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

प्रदेश २ : प्रदेशसभाको बैठक अझै अनिश्चित

155

जनकपुरधाम : केन्द्रमा भएको राजनीतिक दलहरूको आन्तरिक किचलो र विवादले प्रदेश २ को प्रदेशसभा बैठक दुई महिनादेखि बस्न नसकेको मात्र होइन कहिले बस्ने अनिश्चितजस्तै बनेको छ।

प्रदेशमा सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजनका कारण प्रदेशसभाको बैठक २ महिनायता बस्न सकेको छैन। असारमा सरकारले प्रदेशसभाबाट बजेट पारित गरेपछि छैटौं अधिवेशन अन्त्य गरिएको थियो तर सातौं अधिवेशनको अहिलेसम्म कुनै सुरसार छैन।

Advertisement

लामो समयसम्म प्रदेशसभा बैठक नबस्दा संसदमाथि नै प्रश्न उठेको सत्तारूढ दलकै सांसदहरू बताउँछन्।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बैठक चाँडै बोलाउन सरकारले छलफल अघि बढाएको बताए । उनले दसैंअघि नै संसदको सातौं अधिवेशन आह्वान गर्ने तयारी भएको दाबी गरे।

त्यसैगरी प्रदेशसभाका विभिन्न विषयगत संसदीय समितिसमेत अहिले सभापतिविहीन छन्। सार्वजनिक लेखा समिति सुरुदेखि नै सभापतिविहीन छ भने पछिल्लो समय कृषि र प्राकृतिक स्रोत समिति पनि सभापतिविहीन छ।

अहिले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ। यसअघि ५ दल थिए। राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गरी दुई नयाँ दल अस्तित्वमा आएका छन्।

जसपा विभाजित भएसँगै महन्थ ठाकुर नेतृत्वमाको लोसपामा १६ जना प्रदेशसभा सदस्यले सनाखत गरेका छन्। त्यस्तै एमाले विभाजित एकीकृत समाजवादीमा १३ जना प्रदेश प्रदेशसभा सदस्यले सनाखत गरेका छन्।