September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र सञ्चालनको तयारी

1.5K

काठमाडौं: मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र सञ्चालन सम्बन्धी छलफल शुरुआत भएको छ । राष्ट्रिय गौरवको सो आयोजनाअन्तर्गतको सुरुङ पुनः परीक्षणको तयारी भइरहँदा खानेपानी मन्त्रालय, आयोजना, काठमाडौँ उपत्यका खानेपानी विकास बोर्ड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पानी प्रशोधन केन्द्र सञ्चालनबारे छलफल गरिरहेको हो ।

सुन्दरीजलमा पानी झारेदेखि नै केयुकेएलले पानी प्रशोधन केन्द्रमा केही सङ्ख्यामा कर्मचारी राख्ने गरी गरी छलफल भइरहेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिनुभयो । पानी सो स्थानमा आएपछि पहिलो तीन महिना निर्माण कम्पनी आफैँले नै परीक्षण र सञ्चालन गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएकोे उहाँले बताउनुभयो ।

उहाँका अनुसार प्रशोधन केन्द्र ठीक छ भन्ने भएपछि मात्रै लिमिटेडलाई हस्तान्तरण गर्ने योजना बनाइएको भए पनि अहिले शुरुमा नै लिमिटेडका कर्मचारी समावेश गर्ने योजना बनाइएको छ । उहाँले भन्नुभयो, “शुरुमा नै कर्मचारी त्यहाँ भएपछि हामीलाई पछि सञ्चालनमा सजिलो हुनेछ ।” प्रशोधन केन्द्र निर्माण हुँदा संरचना सञ्चालन भएको तीन महिनाको अवधि निर्माण कम्पनीको नै हुने र कुनै समस्या आएमा उसैको हुने गरी सम्झौता भएको थियो ।

लिमिटेडका कर्मचारी शुरुदेखि नै केन्द्र सञ्चालनमा सहभागी हुँदा त्यसलाई कसरी सञ्चालन गर्ने भनी सिक्ने र केही समस्या आएको पाएमा तत्काल सच्याउन निर्माण कम्पनीलाई भन्ने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “छिट्टै नै यसबारे निर्णय गरेर अघि बढिनेछ ।” गत वर्ष नै सम्पन्न भएको प्रशोधन केन्द्र मेलम्चीको पानी नआएकाले अहिलेसम्म प्रयोगमा आइसकेको छैन ।

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुरुङ, हेडवक्र्स र दुई पानी प्रशोधन केन्द्र निर्माण भएको थियो । प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्काे एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा भएको थियो । सुरुङ, हेडवक्र्स र प्रशोधन केन्द्रको निर्माण आयोजनाले र पाइपलगायत अरू पूर्वाधारको निर्माण आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको छ ।

यी दुई प्रशोधन केन्द्रसँगै चालु आर्थिक वर्षमा नै थप एक केन्द्र निर्माण अघि बढाउने भएको छ । अहिले रहेका दुई केन्द्रले मेलम्ची खोलाबाट आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने आयोजनाले जनाएको छ । दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट आउने थप १७/१७ करोड लिटर पानी प्रशोधनका लागि अर्को संरचना आवश्यक पर्ने आयोजनाले जनाएको छ । एडिबीको आग्रहमा दोस्रो चरणका लागि केन्द्र बनाउन तयारी थालिएको र त्यसका लागि डिजाइन भइसकेको छ ।

आयोजनाको सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ/छैन भनी अध्ययन भइरहेकाले त्यो सकिएपछि मात्रै पुनः परीक्षण गर्न सकिने बताइएको छ । आयोजनाको दातृ निकाय एशियाली विकास बैंकको आग्रहमा आयोजनाले जर्मन विशेषज्ञ टोलीलाई बोलाएर सुरुङको परीक्षण गराइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।