November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सभामुखलाई जोडेर कांग्रेस–माओवादी गठबन्धनले सरकार गठनको दावी गर्दै

1.4K

विराटनगर । सभामुखलाई समेत जोडेर कोशी प्रदेशमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनले सरकार गठनका लागि दाबी पेश गर्ने तयारी गर्दैछ ।

संविधानको धारा १६८(२) अनुसार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समयसीमा आज बिहीबार अपरान्ह ५ बजे सकिँदैछ ।

कांग्रेस–माओवादी गठबन्धनमा आवद्ध दलहरुबीच कोशी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति पनि भइसकेको छ । त्यसअनुसार कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने छन् । मुख्यमन्त्रीमा दाबी पेश गर्दा उनलाई समर्थन गर्ने दलका नेताहरुले पनि हस्ताक्षर गर्ने बुझिएको छ ।

Advertisement

गठबन्धनका नेताहरुले अहिले पनि ६ सांसद भएको राप्रपाको समर्थन जुटाउने प्रयास गरिरहेका छन् । तर सहमति जुटेको छैन । राप्रपा संसदीय दलका नेता भक्ति सिटौला गठबन्धनमा आवद्ध दलहरुसँग कुराकानी भइरहे पनि सरकार निर्माणका लागि साथ दिने कि नदिने निर्णय नभएको बताउँछन् ।

९३ सदस्यीय प्रदेशसभा बहुमतका लागि ४७ मत चाहिन्छ । कांग्रेसका २९, माओवादीका १२ (सभामुख बाहेक), एकीकृत समाजवादीका ४ र जसपाका १ प्रदेशसभा सदस्य छन् । अर्थात सभामुखलाई नजोड्ने हो भने चार दलसँग प्रदेशसभाको बहुमत पुग्दैन ।

एमालेले भने सभामुखलाई सरकार गठन प्रक्रियामा सहभागी गराएर विवादित नबनाउन आग्रह गरेको छ ।