काठमाडौं । नेपाल समाजवादी तामाङ सङ्घले नेपालको पूर्वी भूभागमा बाढीपहिरोले पुर्याएको क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ । मंगलबार एक शोक वक्तव्य जारी गर्दै संघले सरकारले घाइतेको नि:शुल्क उपचार गर्नुपर्ने पनि माग राखेको छ ।
संघकी महासचिव नेरुता मोक्तान तामाङ (दिलमाया) द्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘अविरल वर्षपछी नेपालको पूर्वी भूभाग प्रदेश नम्बर १ का पान्थर लगायतका अन्य धेरै विभिन्न जिल्लाहरु बाढीपहिरोका कारण यतिबेला शोकमा डुबेका छन् । हावाहुरी, अविरल वर्षाका कारण ज्यान,धनको अतुलनीय क्षति भएको हुँदा,पीडितहरुका लागि गाँसवास, कपास र नि:शुल्क उपचारका लागि उचित व्यवस्था गरिदिनुहुन नेपाल सरकार समक्ष विनम्र अनुरोधसहितको जोड्दार माग गर्दछौँ ।’
चारदिन देखिको अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभामा ठूलो धनजनको क्षती भएको छ । बाढीपहिरोमा परी पूर्वी पहाडका ताप्लेजुङ र संखुवासभामा सोमबार थप तीन जनाको मृत्यु भएको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोले बगाउँदा बाबुछोराको मृत्यु भएको छ । यस्तै, संखुवासभाको पाँचखपन–५ स्थित हेवा खोला किनारमा सोमबार एक शव भेटिएको छ ।
सोमबार बिहान गएको पहिरोले मेहेलेका केशरकुमार राई र उनका छोरा सुरेशसहित छिमेकी राजकुमार राईलाई बगाएको थियो । सुरेश र राजकुमारलाई छिमेकीले उद्धार गरे पनि सुरेशलाई बचाउन सकेनन् । बेपत्ता केशर पनि अढाई घण्टापछि झन्डै चार सय मिटर तल मृत अवस्थामा फेला परेका थिए ।
बाढीपहिरोबाट संखुवासभा, ताप्लेजुङ र पाँचथरमा बेपत्ता भएकामध्ये २७ जना अझै फेला परेका छैनन् । वर्षा नरोकिँदा र सडक अवरुद्ध भएकाले बेपत्ताको खोजीमा समस्या भइरहेको सुरक्षा अधिकाहरू बताउछन्। शनिबार राति संखुवासभामा बाढीले बगाएर बेपत्ता सुपर हेवा हाइड्रोपावरका १८ जना मजदुरको खोजीमा २ सय ५० सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासनले जनाएको छ ।
