खोटाङ । तत्कालीन प्रदेश १ को नाम कोसी राखिएको विरोधमा पहिचान पक्षधरले आन्दोलन गरिरहेकै बेला खोटाङका दुई गाउँपालिकाले तत्काल नाम प्रयोग नगर्ने भएका छन् । प्रयोग नगर्ने पालिकाहरुमा केपिलास र साकेला छन् । साकेला गाउँपालिकाले जेठ ११ गते र केपिलासगढीले १४ गते निर्णय आफ्नो लेटर प्याड, छाप र कार्यालयको बोर्डमा कोसी प्रदेश उल्लेख नगर्ने निर्णय गरेका हुन् ।
गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले खोटाङका विभिन्न स्थानीय तहले लेटर प्याड, छाप र कार्यालयको बोर्डमा कोसी प्रदेश नराख्ने भनी निर्णय गरेको पाइएकाले कोपिलासगढीको कार्यपालिका बैठकबाट समेत अर्को व्यवस्था नभइन्जेलसम्मका लागि लेटर प्याड, छाप र कार्यालयको बोर्डमा कोसी प्रदेश नराख्ने निर्णय सर्वसम्मतले पारित भएको जानकारी दिए ।

पहिचानवादीले आइतबारदेखि आह्वान गरिएको प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशनलाई लक्षित गरेर प्रदेश राजधानी विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने र कोसी नाम खारेज गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलित छन् ।
यसअघि नै खोटाङकै दिक्तेल–रूपकोट–मझुवागढी नगरपालिका, भोजपुरको आमचोकलगायतका पहाडी जिल्लाका स्थानीय तहहरुले लेटर प्याड, छाप र कार्यालयको बोर्डमा कोसी प्रदेश नराख्ने निर्णय गरिसकेका छन् । अन्य पालिकाहरुलाई पनि यस्तो निर्णय गरेर कार्यान्वयनमा लैजान आग्रह गरिसकिएको राई बताउँछन् ।
