November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संसदमा पहिचान पक्षधरहरूलाई वार्तामा बोलाउन माग, सडकमा सयौं प्रदर्शनकारी घाइते

2.6K

विराटनगर । कोशी प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा बोलाउन संसदमा माग गरिएको छ। कोशी प्रदेशको आइतबार बसेको प्रदेशसभा बैठकको शुन्य समयलाई सम्बोधन सांसदहरुले तत्काल वार्तामा बोलाउन सरकारसँग माग गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका सांसद कमल प्रसाद जबेगुले प्रदेशलाई शान्त बनाउन चाँडै वार्ता बोलाउन पर्ने बताए । उनले बहुमतको आधारमा नामकरण पास भए पनि बहुमतको आडमा अल्पमतको कदर बिर्सिएको बताए।

उनले मानिसले बोल्ने अधिकार नपाउने पहिचान पक्षधरलाई अपराधी जस्तो ठान्ने र जेलमा भए जस्तो हुनुपर्ने बताउदै प्रदेशलाई शान्त बनाउन चाँडै वार्ता बोलाउन पर्ने जोड दिएका हुन् । उनले भने, ‘गम्भीर भएर सोच्न पर्ने हुन्छ, कतै महाभारतको लडाइ जस्तो सृजना गरेका त छैनौ ? यो आन्दोलनलाई मनथन गर्न शान्त, सुरक्षा र स्वतन्त्र हिँड्नका निम्ति बहुमतको हुकमत नगराई वार्ता अगाडि बढाउन जरुरी छ ।’

Advertisement

यस्तै नेपाली काँग्रेसका सांसद खगेनसिंह हांगामले पनि आन्दोलनरतहरूलाई वार्तामा बोलाउन माग गरेका छन् । कोशी नामकरण भएसँगै सडक र सरकारी कार्यलय अस्तव्यस्त रहेको र आफू पनि पहिचानको भूगोल, सभ्यतामा रहेको भन्दै उनीहरूलाई वार्ताको पक्षमा बोलाउन माग राखे । उनले आन्दोलनको क्रममा घाइते भएकालाई सरकार समक्ष उपचारको मागसमेत राखे ।

यस्तै, नेकपा माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले पुनः नामकरणको आन्दोलनले आफ्नो परिचय लुकाएर हिँड्न पर्ने अवस्था आएको बताए । उनले प्रदेशको नाम राखेयता मुख्यमन्त्री गाउँ उक्लन नसकेको बताउदै उनले प्रश्न गरे, ‘मुख्यमन्त्री ज्यु बाहिर लागिरहेको जुलुस र भिड कहाँको हो? उनीहरु यही प्रदेशका होइनन्?

उनले आन्दोलनमा उत्रिएका, आन्दोलनको पक्षमा उभिएका सबै आफूहरुलाई मत दिएको बताउदै उनले भने ‘वार्तामा ल्याउन के ले छेक्यो ? केन्द्र सरकारले छेक्यो कि ? प्रतिपक्षले छेक्यो कि ?’

यस्तै, नेपाली काँग्रेसका सांसद गोपाल तामाङले अनि प्रदेशको नामकरणको विरोधका कारण परिचयपत्र लुकाएर हिँड्न पर्ने अवस्था आएको बताए । हिजो पनि ठुला ठुला आन्दोलन गरेर आएको दल सदनमा रहेको बताउदै उनले सरकार किन मौन रहेको भन्दै प्रश्न गरे ।

बैठकमा राप्रपाका सांसद गोपाल बहादुर विश्वकर्मा, माओवादी केन्द्रका सासद तारादेवी ढकाल लगायतले आन्दोलन पक्षधरलाई वार्तामामा बोलाउनु पर्नेमा जोड दिएका छन्।

संसदमा पहिचान पक्षधरहरूलाई वार्तामा बोलाउन माग गरिरहँदा संसदबाहिर सयौं प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीहरूले निशेधाज्ञा क्षेत्र तोड्न खोज्दा प्रहरीले भिड नियन्त्रणमा लिन भन्दै ३८ राउण्ड हवाइ फायर र ७४ सेल अश्रुग्यास प्रहार गरेको छ भने पानीको फोहोराले पनि हानेका छन् ।

फागुन १७ गतेको प्रदेशसभाले दुई तिहाइभन्दा बढी बहुमतका आधारमा प्रदेश १ को नाम कोसी राखेपछि त्यसको विरोधमा पहिचान पक्षधर आन्दोलित भएका छन् । पहिचानका आधारमा प्रदेशको पुनः नामकरण हुनुपर्ने र कोसी नाम खारेज गर्नुपर्ने माग राख्दै आन्दोलन गरेको ३ महिना भन्दा बढी भइसकेको छ । तर, सरकारले भने आजसम्म आन्दोलनकर्मीहरुलाई वार्तामासम्म बोलाएको छैन ।

कोसी प्रदेशविरुद्ध आन्दोलन गर्ने क्रममा चैत ५ गते विराटनगरमा भएको बृहत आन्दोलनको क्रममा घाइते भएका ४२ वर्षीय पदम लिम्बू ‘लाजेहाङ’ले सहादत प्राप्त गरिसकेका छन् । यसबीचमा सयौं घाइते भएका छन्, पक्राउ परेका छन् । सांसदहरू गाउँ जान सक्ने अवस्था छैन ।

यति धेरै भइसक्दा पनि सरकारको तर्फबाट कुनै पहल नगरिनु पहिचानवाीहरुलाई राज्यको तर्फबाट अपमान गरिनु पहिचान पक्षधरहरुको ठम्याइ छ ।