November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कवि राजु स्याङ्तानको कविता सुन्दा दर्शकमा आक्रोश र आँशु

प्रकाश दिप्साली राई
२०८० जेष्ठ ६

7.5K

भोट कोसीपक्षधरलाई हालेर आफू अनुकुल प्रदेश नाम खोजेर हुन्छ ?- प्राडा टङ्क न्यौपाने

वैशाखे चर्को घाम, किरात राई यायोख्खा सुनसरीको भवनमा आँटि नआँटी श्रोता तथा दर्षकको भिड । पट्यारिलो औपचारिक कार्यक्रम चल्दै गर्दा थिएटर शैलीको वाद्यवादकहरुको भिडमा उक्ले कवि राजु स्याङ्तान । र सुनाए मथिङ्गल हल्लाउने कविताहरु।
“म गाउँ हराएको एउटा टुहुरा
माया हराएको एउटा बटुवा
घाइते मुटु बोकेर आइपुगेको छु
तिम्रो आगनसम्म
ओ कर्णाली !
ओ महाकाली !
ओ कोचिला !
ओ भोजपुरा !
काखीमा फाटेको डम्फु लिएर
कतै लावारिस टोलाइरहेको
हाम्रो पेङदोर्जे
तिमीले देखेनौ ?”

यो कविता सुनेपछि प्रचण्ड गर्मीबिच एकाएक शीतलता छाएको महसुस भयो । सो कविताको शीर्षक थियो ‘गाउँ हराएको कथा’ । उसो त धरानको कविता इतिहासमा पहिलो पटक कवितासँग सङ्गीत फ्युजन भएकोले पनि थामीनसक्नुको दर्शक तथा श्रोताहरुको उपस्तिथिति थियो । तामाङ सास्कृतिक भेषभुषासहित उपस्थित दर्षकहरुले जति कविता सुने घरी मुट्ठी कसे भने घरी आफ्नो समुदायको पीडामा धेरैले आँखाको गाजलको प्रवाह नगरी आँसु पुछ्नसम्म भ्याए ।

गाउँको माटो र भुइँ मान्छेहरुको आवाज ओकल्दै आएका स्याङतानले कार्यक्रममा १० वटा कविता सुनाए । ‘छुटेको प्रचण्ड’, ‘आमा तिमी मात’, ‘जीवनमा कहिलेकाहीँ’, ‘बीमा’, ‘च्याङ्बाको रहर’, ‘पिपाको हुङ्कार’, ‘पोष्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह’, ‘गुमनाम ताराहरु’ लगायतका कवितामा दर्शक तथा श्रोता गम्भीर मुद्रामा रहे । कवि राजु स्याङ्तानको कविता कृति “ओ पेङ्दोर्जे !” अन्तरगत पोएट्री टुरको पहिलो पाइला धरानमा टेके । उनको पाइलालाई धरानमा टेकाएका थिए नेपाल तामाङ घेदुङ संघ समन्वय समिति, सुनसरी र तामाङ बौद्धिक समाजले । कवि स्याङ्तानले पटक-पटक धराने कवि मनहरुलाई सम्झँदै धन्यवाद दिए ।

Advertisement

कविता वाचनपश्चात कवितासंग्रह पुस्तकमाथि ‘प्यानल डिस्कसन’ गरिएको थियो । छलफलमा प्राडा टङ्क न्यौपाने, कवि सुदिप पाख्रीन र कृतिका सर्जक राजु स्याङ्तान थिए भने कवि इन्दु योन्जनले सहजीकरण गरेकी थिइन् ।

छलफलमा कवि सुदिप पाख्रीनले राजुको कविताले आफूलाई आफ्नो समुदायको मिथक र भाषाप्रतिको प्रेम जगाएको र आफूले यस्तो काम किन गर्न सकिँन होला ? भन्ने छुकछुकी जगाएको बताए । प्राडा टङ्क न्यौपानेले राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ले नेपाली भाषा र साहित्यलाई थप समृद्ध बनाएको बताए । उनले प्रश्न गरे के यो नेपाली(खस) भाषा मात्र नेपाली हो ? यहाँ रहेका अन्य समुदाय अनेपाली हो ? हाम्रो यही मानसिक्ताले नेपाली भाषा र साहित्य विश्वव्यापी हुन नसकेको जिकिर गरे । राजुको कविता पढ्दा आफुलाई खास नेपाली साहित्य पढेको अनुभुति रहेको बताए । राजुको यो पुस्तक पहिचानको मुद्दाले शसक्त रहेको बताउँदै एक प्रसङ्गमा चुनाबमा भोट चैँ कोसी पक्षधरलाई दिने अनि परदेशको नाम चैँ आफू अनुकुल खोजेर हुन्छ ? हामी यस्तो कुरामा सोच्ने कि नसोच्ने ?

पुस्तकका सर्जक स्याङ्तानले सदियौँ वर्ष पुरानो मिथक र हाम्रो सँस्कृति चटक्कै कतै छुट्यो, कतै हरायो या हराइयो । तर नयाँ सचेत पुस्ताको आगमनपश्चात् केही शुभ सङ्केत देखिन थालेको बताए । ‘हामी धेरैपछि परेका छौँ । अरु समृद्ध बनेर टेक्नोलोजीलाई टेकेर अरु फड्को मार्ने दाउमा छ, तर हामी टेक्नोलोजीमा यता न उता बनेर मनोरन्जनको नाममा अलमलिरहेका छौँ ।’, एक प्रश्नमा उनले भने, ‘यो मेरो कृति मेरो समुदाय या नेपाली साहित्यलाई पुग्दो लेखन हैन। अरु कैयौं गर्न बाँकी छ । यद्यपि सुरु भने चैँ पक्कै हो ।’

नेपाल तामाङ घेदुङ संघ, प्रदेश नम्बर १ का अध्यक्ष रेखबहादुर तामाङ रहेका थिए भने सभाध्यक्ष नेपाल तामाङ घेदुङ संघका उपाध्यक्ष हस्तबहादुर तामाङ रहेका थिए । कार्यक्रमलाई सहजीकरण भने मङ्गलसिं तामाङले गरेका थिए ।