विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङज्यूसमक्ष कोशी प्रदेशका माननीय मुख्यन्यायाधिवक्ता श्री गजेन्द्र आचार्यले मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका सर्तसम्बन्धि ऐन, २०७५ को दफा १२ बमोजिम कार्यालयको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष ०७८/७९) पेश गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा वार्षिक प्रतिवेदन पेश गर्दै मुख्यन्यायाधिवक्ता गजेन्द्र आचार्यले हालसम्म ५२ मुद्दा फस्र्यौट भएको र ७३ मुद्दा फस्र्यौट हुन बाँकी रहेको बताएका थिए । १५ जना दरवन्दी रहेकोमा १२ जनाले काम गर्नुपरेको र सम्पूर्ण कार्य सम्पादन गर्न सहन्यायधिवक्तासहित २९ दरवन्दी आवश्यक रहेको पनि प्रतिवेदन पेशसहित सुझाव राखेका थिए ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख परशुराम खापुङज्यूले आवश्यक जनशक्ति नभएपनि यतिका काम हुनु आफैँमा तारिफयोग्य रहेको बताएका थिए । र, छाटो समयमा यतिका काम गरी प्रतिवेदन बुझाउन आएको प्रति मुख्यन्यायाधिवक्ता र टोलीलाई धन्यवाद पनि दिएका थिए ।
